निर्मलाका हत्यारा पत्ता लगाउन देउडा मार्फत माग

बैतडी, मंसिर १५ । निर्मलाका हत्यारालाई पत्ता लगाउन बैतडीका महिलाहरुले सरकारलाई देउडा मार्फत आग्रह गरेका छन् । बैतडीको पाटनमा १६ दिने लैगिंक हिसा विरुद्धको अभियान अन्तर्गत शनिवार भएको ड्यौडा कार्यक्रममा सहभागी महिलाहरुले निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तका परिवारले ४ महिना सम्म न्याय नपाएको भन्दै महिलाहरुले ड्यौडा मार्फत सरकारको कडा आलोचना गरेका छन् । महिलामाथि हुने हिंसाका न्यूनीकरणका लागि बनेका कानुनहरुको कार्यान्वयन गर्न पनि उनीहरुले ड्यौडा मार्फत आग्रह गरेका छन् ।

 

परोपकार ग्रामीण विकास संघको आयोजनामा भएको ड्यौडा कार्यक्रममा पाटन नगरपालिकाका विभिन्न ६ ओटा महिला समूहहरुको सहभागिता रहेको थियो । आफूहरुले ड्यौडा मार्फत महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र निर्मला पन्तका परिवारलाई न्याय दिनका लागि आग्रह गरेको सहस्त्रलिंग महिला समूहका अध्यक्ष डम्मरी भट्टले बताइन् ।

 

सरकारले आफूहरुको आवाज अझै पनि नसुनेकाले देउडागीत मार्फत सरकारको ध्यानाकर्षण गराएको उनले बताइन् । कार्यक्रममा उज्जवल महिला समूह, भूमीराज महिला समूह, उदयदेव महिला समूह, सहस्त्रलिंग महिला समूह, एकता महिला समुह र अनिरुद्र महिला समूहको सहभागिता रहेको थियो ।

 

देउडा कार्यक्रममा सहभागी महिला समूहहरुलाईप्रति समूह १ हजार ६ सयका दरले पुरस्कार प्रदान गरिएको सामाजिक अभियान्ता लोकेन्द्रप्रसाद पन्तले जानकारी दिए ।