एक हजार एक सय ३९ प्रहरी चौकीमा छैन सवारीसाधन


काठमाडौं मंसिर १२। मुलुकका एक हजार एक सय ३९ प्रहरी चौकी सवारीसाधनविना नै जिम्मेवारी बहन गरिरहेको अवस्थामा छन्। सडक सुविधा पुगेका क्षेत्रमा पनि प्रहरी पैदलै काम पूरा गर्न बाध्य छन्।

नेपाल प्रहरीका अनुसार एक सय ३९ युनिटमा मोटरसाइकलसमेत छैन। सवारीसाधन नभएका चौकीबाट नियमित काम परम्परागत शैलीमै भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सीमित हतियार र लौरो मात्र रहेका प्रहरी पैदल वा सार्वजनिक सवारीसाधनको भर पर्नुपर्ने अवस्था छ।

 

यही समस्याका कारण चालू आर्थिक वर्षभित्रै ती चौकीमा कम्तीमा एक–एकवटा मोटरसाइकल किन्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अपराधमा संलग्न व्यक्ति पक्राउ गर्न मुलकुभरका प्रत्येक प्रहरी चौकीमा एउटा मोटरसाइकलसहित ‘क्विक रेस्पोन्स टिम’ परिचालन गर्न लागिएको प्रहरी प्रवक्ता एसपी उत्तमराज सुवेदीले जनाए।  कारोबार दैनिकबाट ।