नेपाली कांग्रेसले विधानमाथिको छलफललाई शनिबार अन्त्य गर्ने तयारी

काठमाडौं मङ्सिर २१ ।  नेपाली कांग्रेसले विधानमाथिको छलफललाई शनिबार अन्त्य गर्ने तयारी गरेको छ ।

केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले शनिबार विधानमाथिको छलफललाई अन्तिम टुंगो लगाउने भएको हो । शनिबार केन्द्रीय सदस्यहरु सीता गुरुङ्ग र डीला संग्रौलाले धारण राख्नुभएको थियो ।

 

त्यसपछि उपसभापति बिजय गच्छदार, महामन्त्री डा।शंशाक कोइराला, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवले विधानमाथि धारणा राख्नुभएको थियो ।

 

बैठकमा पार्टी सदस्यतालाई खुल्ला गर्ने वा मौजुदा साधारण र क्रियाशील गरेर दुई प्रकारको कायमै राख्ने, पदाधिकारीको संख्या बढाउने वा अहिलेकै संख्यामा कायम राख्ने, भात्तृसंस्थाको सुदृढीकरण, प्रदेश र केन्द्रको समन्वय तथा विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको प्रतिनिधित्वका बारेमा बैठकमा छलफल चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

 

शनिबार रातिसम्म विधानमाथिको छलफल सकिएमा आइतबारको बैठकमा राजनीतिक प्रस्ताव पेश हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । साथै आइतबार नै महासमिति बैठक व्यवस्थापन समतिको पनि बैठक बस्ने उहाँले बताउनुभयो ।

 

मंसिर ९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा विधानमस्यौदा प्रस्ताव पेश भएको थियो । १३ गतेदेखि विधानमस्यौदा माथि केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको छ ।