चिनियाँ राष्ट्रपति सि जिनपिङ मार्चमा नेपाल आउँदै


काठमाडौं मंसिर २३। चिनियाँ राष्ट्रपति सि जिनपिङको उच्चस्तरीय नेपाल भ्रमण आगामी मार्चमा हुने भएको छ । भ्रमणका लागि दुवै देशले आन्तरिक तयारी गरिरहेका छन् । कुनै आकस्मिक व्यवधान उत्पन्न नभए राष्ट्रपति सि मार्चमा नेपाल आउने लगभग निश्चित रहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।

चिनियाँ राष्ट्रपतिमा सि पहिलो पटक निर्वाचित हुँदादेखि नै नेपाल भ्रमणमा आउने चर्चा चलिरहेको हो । तर सिले चीनमा दोस्रो कार्यकाल सम्हाल्दासम्म नेपाल भ्रमण हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने दुवै कार्यकालमा चीन भ्रमण गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण गरेपछि २०७३ सालमा पनि सि भ्रमणको चर्चा चलेको थियो । तर अन्ततः भ्रमण स्थगित भयो ।

 

चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको दुई दशक बढी भइसकेको छ । प्रधानमन्त्री स्तरमा पछिल्लो पटक २०६६ सालमा चिनियाँ भ्रमण भएको थियो । तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले पाँच घण्टाका लागि नेपाल भ्रमण गरेका थिए ।

राष्ट्रपति भ्रमणको अर्थ

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण सरकारी नेतृत्वलाई प्रतिष्ठाको विषय बन्ने गरेको छ । चीनसँगको सम्बन्ध सुधार भएको अर्थात् विशेष सम्बन्ध बनेको भनेर नेपालमा हुने गरेका दाबीलाई प्रमाणित गर्न चिनियाँ राष्ट्रपतिको भ्रमण अनिवार्य बनेको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बनाएको ‘राष्ट्रवादी’ छवि, चीनसँग देखिएको निकटता र भारतसँगको परनिर्भरता घटाउने प्रयासको नतिजा देखिएको छैन । दोस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले गरेको चीन भ्रमणका क्रममा केही सम्झौता त भएका छन् । तर सम्झौता कार्यान्वयनमा चीन कति गम्भीर छ रु चीनको प्राथमिकतामा नेपाल परेको छ कि छैन ? यी प्रश्नको जवाफ सिको भ्रमणमा निर्भर हुनेछन् ।

 

भारतले गरेको अघोषित नाकाबन्दीपछि परनिर्भरता घटाउने र चीनसँग वैकल्पिक व्यापार बढाउने सन्दर्भमा उत्तरतिर सम्बन्ध बढाउन खोजिएको छ । नेपाल सरकारका महत्वाकांक्षी विकास योजनामा चिनियाँ सहयोग समेत महत्त्वपूर्ण हुने आमबुझाइ छ ।

 

तर चीनले नेपाललाई प्राथमिकतामा राखेको छ कि छैन रु प्रष्ट भइसकेको छैन । यथाशीघ्र राष्ट्रपति सि नेपाल भ्रमणमा आए भने सकारात्मक संकेत मिल्नेछ । संसदमा दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकार रहेका बेला चीनसँग राजनीतिक र सैद्धान्तिक निकटता हुने अनुमान समेत गरिन्छ ।

 

तर वामपन्थी सरकारप्रति चिनियाँ निकटता प्रष्ट हुने आधार देखिँदैनन् । सरकारले राष्ट्रपति सिलाई काठमाडौंमा स्वागत गर्न सकेमा चीनसँग सम्बन्ध सुधार भएको र चीनको प्राथमिकतामा नेपाल परेको प्रष्ट हुनेछ । जसले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको उचाइ समेत बढाउने छ ।

भ्रमणका एजेन्डा

ओली सरकारले अगाडि सारेका चीनबाट रेल ल्याउनेदेखि इन्धन आयातसम्मका एजेन्डाले राष्ट्रपति सिको भ्रमणमा प्राथमिकता पाउने छन् । दुई देशबीच सहयोग आदानप्रदान र योजना कार्यान्वयनका सन्दर्भमा सम्झौता भएर आन्तरिक प्रक्रिया अगाडि बढिरहेका छन् । तर राष्ट्रपति सिको भ्रमणमा उठ्ने एजेन्डाले प्राथमिकता पाउने र तीब्रताका साथ कार्यान्वयनमा जाने अपेक्षा गरिन्छ ।

 

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा रेल, तेल भण्डारण, पारवाहन सुविधा, ऊर्जा र सडक सञ्जाल विस्तार लगायतका एजेन्डा प्राथमिकतामा परेका थिए । जसमध्ये केही विषयमा सम्झौता समेत भइसकेको छ । राष्ट्रपति सिको भ्रमणका क्रममा पनि ओली भ्रमणकै एजेन्डा कार्यान्वयनलाई गति दिने विषयमा छलफल हुनेछ ।

 

पछिल्लो समय चीनले दक्षिण एसियाका राष्ट्रमा प्रभाव बढाउन कोसिस गरिरहेको सन्दर्भमा चीन पक्षबाट समेत केही एजेन्डामा छलफल हुनेछ । नेपालमा चीन विरोधी गतिविधि हुन नदिन, एक चीन नीतिमा नेपालको प्रतिवद्धता दोहोर्याउन, नेपाली भूमिमा तिब्बती अभियन्ताका गतिविधि हुन नदिन चीनले नेपाललाई सचेत गराउने गरेको छ । जसमा नेपाल सदैव प्रतिवद्ध नै छ ।

 

चीनले ‘वान बेल्ट वान रोड’ लगायतका ठूला योजनामा छिमेकी देशलाई समावेश गराउन चाहन्छ । यसमा समेत नेपालले सहभागिता जनाउने भइसकेको छ । आफ्ना ठूला परियोजनामार्फत् चीन छिमेकी देशसँग जोडिन चाहँदा त्यसबाट नेपाललाई समेत फाइदा हुने विश्लेषण हुने गरेको छ ।