निर्मला हत्याकाण्ड : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पुत्ला जलाइयो

धनगढी, मंसिर २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

 

सरकारले नै अपराधी संरक्षण गरेको आरोप लगाउँदै नेपाली कांग्रेस कैलालीले धनगढीस्थित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको हो ।सरकारले हत्यारा जोगाउन खोजेको भन्दै प्रदर्शनकारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पुत्लादहनसमेत गरेका छन् ।

 

निर्मलाको हत्यारालाई सरकारले संरक्षण गरेका कारण हत्यारा सार्वजनिक गर्न समय लागिरहेको आरोप नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष भेष बमले लगाएका छन् ।निर्मलाको बलात्कारपछि हत्या भएको चार महिनाभन्दा बढी समय बितेपनि सरकार हत्यारा सार्वजनिक गर्न असफल भएको उनको भनाइ छ ।

सरकारले अनुसन्धानका नाममा फेरिपनि सोझा–सीधा जनतालाई दुःख दिइरहेको आरोप पनि उनले लगाएका छन् । सरकार फेरि नक्कली आरोपी खडा गर्न लागिपरेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका छन् ।

 

नेपाल महिला संघ कैलालीकी नेत्री तुल्सी देवकोटाले सरकारले निर्मला हत्याकान्डलाई गम्भीररुपमा नलिएका कारण आन्दोलन गर्नुपरेको जिकिर गरिन् ।उनले निर्मलाको हत्यारालाई सार्वजनिक गर्न नसके प्रदेशका मन्त्रीदेखि केन्द्र सरकारका मन्त्री सबैले राजीनामा दिनुपर्ने माग गरेकी छन् ।