मत एक फूल हुँ, हेरचाह गर्ने मालिक त हजुरहरु हो :रवि ओड

काठमाडौं, मंसिर २५ । नेपाल आइडल सिजन–२ को ‘अन्तिम चार’ मा स्थान बनाउन सफल रवि ओड गृह प्रदेशको तीनदिने बसाई सक्दै सोमबार काठमाडों फर्किएका छन् । उनी सुदूरपश्चिममा समर्थक एवं विभिन्न सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै सोमबार राजधानी फर्किएका हुन् ।

 

रविले राजधानी फर्के लगत्तै आफ्ना समर्थकलाई हृदयदेखि नै अनुरोध गरेका छन् । रविले अब ‘टप ४’ को प्रतिस्पर्धा कडा भएकाले आफूलाई अत्यधिक भोट दिन अनुरोध गरेका हुन् ।

 

उनले आफ्नो फेबसुकबाट भावुक हुँदै भनेका छन्, ‘नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बस्नुहुने आदरणीय सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुबाट पाइराखेको साथ, सपोर्ट र माया मेरो लागि अनमोल सरह हो । हजुरहरुको साथ र सपोर्टबिना मेरो सागीतिक यात्रा अधुरो छ । म त एक फूलबारीको फूल हुँ, त्यसको हेरचाह गर्ने मालिक त हजुरहरु हुनुहुन्छ ।’

साथै, रविले आफूलाई सहयोग गर्ने सम्पूर्ण नेपालीलाई आभार व्यक्त गरेका छन् । उनले फेबसुकमा भनेका छन् ,‘मलाई सपोर्ट गर्नुहुने आदरणीय सम्पूर्ण नेपाली दाजुभाईहरु तथा दिदीबहिनीहरु जो जहाँ हुनुहुन्छ देश–बिदेश, हिमाल–पहाड–तराई, पूर्व मेची पश्चिम महाकाली हजुरहरु सबैप्रति म हृदयदेखि आभारी छु । हजुरहरुको यो साथ र सहयोगलाई आत्मसात गर्दै नेपाल आइडलको फाइनल भिड्दै छु । हजुरहरुबाट यो साथ र सपोर्ट यसरी नै पाइराखु । सम्पूर्णलाई भित्री मनदेखि सम्झना छ ।’ रविसँगै अब नेपाल आइडलमा पोखराका बिक्रम बराल, झापाका अस्मिता अधिकारी र सुमित पाठक बाँकि छन् ।