कांग्रेसको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गते सम्म

काठमाडौं,मंसिर २५ । नेपाली कांग्रेसको  महासमितिको बैठकमा एक करोड खर्च हुन सक्ने पूर्वानुमान गरेको छ ।मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकमा हुने खर्चबारै पनि जानकारी दिएको छ । उनले खानपानदेखि सबै कुरामा करिब एक करोड बराबर खर्च हुने अनुमान रहेको बताए ।

 

महासमितिको बैठक तोकिएकै समयमा हुने दाबी गर्दै शर्माले भने, ‘देशभरिबाट साथीहरु आउने क्रम सुरु भइसक्यो। विदेशबाट पनि आउनुभइसक्यो। अब उहाँहरुले महासमिति बैठक स्थगन भएको सूचना लिएर जाने भन्ने हुँदैन।’

 

छाप्ने सामग्री, लगाउने ब्याच निर्माण भइसकेका छन् । त्यसमा २०७५ मंसिर २८ देखि पुस ३ सम्म नै लेखिएका छन् । महासमिति बैठक सिंहदरबार अगाडिको योगाम्बर पार्टी प्यालेसमा हुने शर्माले जानकारी दिए ।

 

कांग्रेसका कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

 

उनका अनुसार सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने छ । साथै कांग्रेसले सरकारका राम्रा काममा सघाउने निर्णय गरेको छ। कांग्रेसका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनेदेखि आदिवासीलगायतलाई पार्टीमा समावेशीताको हिसावले प्रतिनिधित्व गराउने पनि प्रतिवदेनमा समेटिएको छ।

 

पहिलेदेखि जस्तै अहिले पनि नेतृत्वमा मधेशलाई समावेश गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राष्ट्रहितलाई ध्यान दिने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ । उनले महासमिति बैठकका लागि सम्पूर्ण तयारी सकिएको बताएका छन् ।