छोरी र श्रीमती हत्या आरोपमा एकजना पक्राउ


हेटौँडा , पुष १ ।   श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आइतबार सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।

सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटौंडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ ।

 

अभियुक्त रमजानमियाले आफ्नो श्रीमती २५ वर्षकी लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई हत्या गरेको छानविनका क्रममा पाइएको दावी गरिएको छ । घटना विवरणअनुसार मङ्सिर १८ गते हेटौँडा–१९ मा एक वर्षकी बालिका र २५ वर्षीय एक महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या श्रीमान् रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

 

मृतक खातुनबाट फेला परेको मोबाइल र डायरीबाट घटनाको विवरण सार्वजनिक भएको र सोही मोबाइलबाट मृतकका पिता मोतिहारी आधापुरथाना वडा नं ६ बस्ने आरिक मियाँको छोरा ४० वर्षीय अलियर मियाँले शव सनाखत गरी लगेको प्रहरीले जनाएको छ ।