वर्तमान राजनीतिक परिस्थितिबारे क्रान्तिकारी माओवादीको विश्लेषण

(नेकपा (क्रान्तिकारी माओवादी) को २०७५ मंसिर १२–१७मा आयोजित केन्द्रीय समितिको बैठकमा क. किरणद्वारा प्रस्तुत तथा पारित केन्द्रीय कार्यालयको रिपोर्टको अंश)

  • आज विश्वमा साम्राज्यवादी तथा विभिन्न शक्तिकेन्द्रहरुका बीच नवउदारवाद र संरक्षणवादको विषयमा संघर्ष चलिरहेको छ । यति बेला यो संघर्ष व्यापारयुद्धमा संकेन्द्रित बन्न गएको छ । अहिले अमेरिका इरानसित गरिएको परमाणु सम्झौताबाट पछि हटेको छ र विभिन्न विषयमा त्यो एक्लिँदै गइरहेको छ । आज विभिन्न साम्राज्यवादी देश तथा शक्तिकेन्द्रहरु आ–आफ्नो कित्ता बलियो बनाउन ठूलो कसरतमा लागिरहेका छन् ।

– विश्वमा भूमण्डलीकृत साम्राज्यवाद र त्यसले अवलम्बन गर्दै आएको नवउदारवादी अर्थतन्त्र र संसदवादी राजनीति पनि असफल सिद्ध हुँदै गएको छ । परन्तु त्यसको विरोध र विकल्पमा विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्रहरु सशक्त रुपमा प्रस्तुत हुन सकिरहेका छैनन् ।

आज भारतीय विस्तारवाद संरक्षणवादको विरोधमा प्रस्तुत भएर र अमेरिकाको विरोधका बाबजुद पनि रुससित ठूलो परिमाणमा हतियार खरिद गर्ने सम्झौता गरेर रुसी चीनी ध्रुवतर्फ ढल्कन खोजेको जस्तो देखिएको छ । तर पनि त्यो अमेरिकी खेमाका विरुद्ध जानसक्ने स्थिति देखिदैन र अमेरिकाले पनि भारतका विरुद्ध कुनै कडा कदम चाल्न सकेको अवस्था छैन । यसरी हेर्दा भारत अहिले बीचको स्थितिमा रहेको देखिन्छ ।

विश्वमा क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल र आत्मगत परिस्थिति प्रतिकूल बन्न गएको हामीले बताउदै आएका छौं । अहिले पनि यही नै सत्य हो तर पनि विश्वका कतिपय मुलुकहरुमा समाजवादी, नयाँ जनवादी र राष्ट्रिय मुक्ति आन्दोलनहरु चल्दै आएका छन् ।

 

  • कथित वाम तथा कम्युनिस्ट नामधारी दुई तिहाई वहुमतको सरकार बनेको आठ महिना वितिसक्दा पनि जनताले राहतको अनुभूति गर्न पाएका छैनन् । आज राष्ट्रिय स्वाधीनताको प्रश्न निकै गम्भीर बनेको छ । कालापानी लिम्पियाधुरा भेगलाई भारतमा गाभी भारतले बनाएको नक्सा नेपालमा विभिन्न कार्यालयहरुमा टाँगिदासम्म पनि सरकार मौन छ । सीमा अतिक्रमणका समस्या जटिल बन्दै गएका छन् । नागरिकता र जनसंख्या अतिक्रमणका समस्या पनि विकराल बन्न थालेका छन् । जलविद्युत तथा प्राकृतिक स्रोत साधन माथिको भारतीय हस्तक्षेप झन् बढ्दै गएको छ । यो लोकतन्त्र उपल्लो वर्गका लागि हो । मजदुर, हली, गोठाला, सुकुम्बासी, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी मुस्लिम लगायतका उत्पीडित वर्ग र जनसमुदाय लोकतान्त्रिक अधिकारबाट वञ्चित भएका छन् । बालिका–किशोरीहरु बलात्कार तथा हत्याका शिकार हुँदै आएका छन् । दोषीहरु पत्तालगाउने र कार्वाही गर्ने काममा सरकार अत्यन्तै जिम्मेवारी विहीन तथा उदासीन भएको छ । पहिचान सहितकोसंघीयताप्रति घोर उपेक्षा गरिएको छ । जनजीविकाका समस्या दिन प्रतिदिन जटिल बन्दै गएका छन्। मूल्यवृद्धि, करवृद्धि, भूमाफियातन्त्र, राष्«िटय उद्योगधन्धाको विकासको अभाव, व्यापारघाता, बेरोजगारी आदि जटिल समसयाले जनता आक्रान्त बनेका छन् । निजीकरण, उदारीकरण र व्यापारीकरणले शिक्षा, स्वास्थ्य सहित देशको सिंगो अर्थतन्त्र विकराल बन्न गएको छ । आज एकातिर साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप एवँ चलखेल र अर्कोतिर पश्चगामी राजनीतिक शक्तिहरुका राष्ट्र तथा जनविरोधी गतिविधिहरु अत्यन्तै तीव्र रुपमा बढ्दै गएका छन् ।

विभिन्न पार्टी तथा जनवर्गीय मोर्चाहरुद्वारा सरकारका विरुद्ध विभिन्न कोणबाट आवाज उठाउने र मागपत्र पेशगर्ने तथा संघर्षका कार्यक्रम दिनेकाम हुदै आएका छन्। यसै क्रममा बिगेसोद्वारा पनि विभिन्न मागहरु समावेशगरी सरकारलाई ज्ञापनपत्र दिने र गोष्ठी–अन्तरक्रिया राख्ने आदि काम भएका छन्।

जनयुद्धका सहिद तथा वेपत्ता योद्धाहरुका परिवारजन, घाइते तथा अपाङ्ग योद्धा र जनमुक्ति सेनाका वहिर्गमित योद्धाहरुले प्रस्तुत गदै आएका मागहरुको सम्बोधन गरिएको छैन । सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई अधिकार विहीन तुल्याई समाप्त पारिँदै छ र जनयुद्धकालीन मुद्दाहरुलाइ नियमित अदालती प्रक्रियामा लैजाने काम हँुदै आएको छ । यसरी के स्पष्ट भएको छ भने अब कथित शान्ति र स्थिरता असम्भव बन्न गएको छ ।

संसदवादी तथा नव प्रतिक्रियावादी दलाल सरकारको यस असफलतालाई पुरातनपंथी तथा एकथरी संसदवादी प्रतिक्रियावादी शक्तिहरुले कम्युनिस्टहरुको असफलताका रुपमा कुप्रचार गरिरहेका छन्। वस्तुतः यो सरकार कम्युनिस्टहरुको नभई दलाल तथा नोकरशाही पुँजीपति एवं सामन्त वर्ग र सँसदवादी प्रतिक्रियावादीहरुकै सरकार हो । तसर्थ, यो असफलता प्रतिक्रियावादी वर्ग, त्यसको राज्यसत्ता र त्यसकै व्यवस्थाको असफलता हो । यो कुरा हामीले जनताका बीचमा राम्रोसित पु¥याउन जरुरी छ ।

– आज वैदेशिक प्रतिक्रियावाद र नेपाल, प्रतिक्रियावादी राज्यसत्ता र नेपाली जनताका बीचमा मात्र होइन, सत्ताधारी र प्रतिपक्षी, सत्ताधारी एवं प्रतिपक्षीभित्रका विभिन्न अन्तरविरोधहरु सतहमा आइरहेका र चर्कदै गइरहेका छन् । यो क्रान्तिका लागि सकारात्मक कुरा हो । परन्तु अर्कोतिर क्रान्तिकारीहरुको आत्मगत स्थिति भने कमजोर छ । यो नकरात्मक कुरा हो । यी दुवै पक्ष र अवसरलाई राम्रोसित आत्मसात गर्दै यो वेला हामीले आत्मगत अवस्थालाई बलियो बनाउन र संघर्ष गर्नका लागि योजनाबद्ध रुपमा विशेष परिश्रम गर्नुपर्ने आवश्यकता छ ।