प्राविधिक शिक्षामा ग्रेडिङ प्रणालीले थपेका अन्यौलता

   लेखक- पहलमान राेकाया 

काठमाडाै पाैष ७। पछिल्लो समय कार्यान्वयनमा आएको ग्रेडिङ प्रणालीले नेपालको समग्र शिक्षा प्रणालीमाथि केही महत्वपूर्ण प्रश्नहरु तेर्साएको देखिन्छ । शिक्षामा गुणस्तरीयता कायम गर्न र गुणस्तरीय शिक्षाको मापनमा सहयोगी देखेर यो प्रणाली अवलम्बन गरिएको देखिए पनि यसको कार्यान्वयन पक्षमा देखिएको लथालिङ्ग व्यवस्थापनले ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ । वास्तवमा शिक्षामा समानता चाहिरहेका गरिब, निमुखा एवम् निम्नवर्गीय समुदायका विद्यार्थीहरुमा सुरुवातमा यो प्रणालीप्रति जुन भरोसा र विश्वास थियो, त्यो क्रमशः घट्दै गइरहेको छ।

 

वास्तवमा शिक्षाक्षेत्रका सरोकारवालाहरुले दाबी गरेअनुसार ग्रेडिङ प्रणालीको प्रारम्भ खास केही कारणहरुको निवारणका लागि भएको थियोे । जस्तो कि ग्रेडिङ प्रणालीको सुरुवातपछि सबै वर्गका विद्यार्थीका लागि हरेक विषयहरुको अध्ययनमा सहजता आउने धेरैको अपेक्षा रहेको थियो । न्यून अंक ल्याउने विद्यार्थीले कम अंक आएका कारण एक वर्ष पर्खिनुपर्ने अवस्था अन्त्य भएर तोकिएको विषयमा उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था गरिएको थियो । हरेक विद्यार्थीले चाहेको विषयमा उच्च शिक्षा अध्ययन गर्न पाउने बनाइएको थियो । यस्ता धेरै राम्रा व्यवस्थाहरुले विद्यार्थी र अभिभावक वर्गमा एक खालको उत्साह समेत ल्याएको देखिन्थ्यो । शिक्षासँग सम्बन्धित सबै सरोकारवालाहरुको मौन समर्थनले पनि यो प्रणाली राम्रो नै भएको पुष्टि गरेको थियो । एक हिसाबले विद्यार्थी, अभिभावक र सम्पूर्ण सरोकारवालाहरु समेत ग्रेडिङ प्रणालीबारे सन्तुष्ट नै देखिन्थे।

 

तर समय बित्दै जाँदा आज ग्रेडिङ प्रणालीबारे तिनै विद्यार्थी, अभिभावक र सरोकारवालाहरुमा व्यापक गुनासाहरु उब्जिरहेका छन् । न्यून जीपीए ल्याएका विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्न दिइने भनियो तर बढी आकर्षण भएका विज्ञान र व्यवस्थापन जस्ता विषयहरु अध्ययन गर्नबाट बञ्चित गरियो । विद्यार्थीले आफूले सोचेको विषय पढ्न नपाउने अवस्था सिर्जना भयो । न्यून जीपीए ल्याउने विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अन्तर्गतको टीएसएलसी अन्तर्गत पर्ने सीएमए, अनमी, ल्याव असिस्टेन्ट र सवओभरसियर जस्ता विषयहरुमा मात्र पढ्न पाउने व्यवस्था गरियो । विद्यार्थीहरु प्राविधिक विषय अन्तर्गतका डिप्लोमा तहका सम्पूर्ण विषयहरु अध्ययन गर्नबाट बञ्चित भए । वास्तवमा यसरी कम अंक ल्याएर केवल टीएसएलसी अन्तर्गतका विषय पढ्ने बाध्यता खासगरि ग्रामीण क्षेत्रका विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुलाई आइपरेको देखिन्छ । शहरका महँगा र ठूला बोर्डिङ्ग स्कूलबाट एसएलसी उत्तिर्ण गरेका हुनेखाने वर्गका छोराछोरीले यो समस्या भोग्नुपर्ने अवस्था नै भएन । किनभने उनीहरुको स्वभाविक रुपमै धेरै अंक आएको हुन्छ । यहाँ, निम्नवर्गका छोराछोरीका निम्ति ग्रेडिङ प्रणाली अभिषाप सावित कसरी भयो भनेर यहाँ एउटा प्रमाण पेश गर्न सकिन्छ।

 

जस्तो कि न्यून अंक ल्याएर प्राविधिक शिक्षा अन्तर्गतको टीएसएलसी अन्तर्गत एउटा सीएमए विषयका लागि एउटा कलेजले सीटीइभीटीसँग अनुमति लिएर ४० जनाका लागि आवेदन खोल्छ । त्यसमध्ये ४ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था छ तर ४० जनाको सीटमा हजारौं विद्यार्थीको आवेदन पर्छ । नाम निकाल्न सफल भएका ४० जना त पढ्न पाउँछन् तर नाम ननिकालेका बाँकी विद्यार्थीहरु त्यो विषयमात्र होइन कि त्यो बर्ष नैं पढ्नबाट बञ्चित हुन्छन् । यहाँ प्रश्न कहाँनेर हो भने, त्यसरी पढ्नबाट बञ्चित विद्यार्थीहरुलाई ग्रेडिङ प्रणालीले किन सम्बोधन गर्न सकेन  यसरी असंख्य विद्यार्थीहरुको भविष्यमाथि नयाँ प्रणालीका नाममा खेलबाड गर्न मिल्छ र ?

 

यसकारण समग्र शिक्षा प्रणालीलाई व्यवस्थित गर्न भनेर ल्याएको ग्रेडिङ प्रणाली यथार्थमा निम्नवर्गीय र ग्रामीण क्षेत्रका विद्यार्थीहरुका निम्ति निकै ठूलो अविसाब सावित भएको देखिन्छ । उनीहरुका निम्ति यो प्रणाली लागु गरिनु वा नगरिनुले कुनै अर्थ राख्दैन । हुनेखाने वर्गका विद्यार्थीहरुलाई छुनै नसकेको यस प्रणालीले आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरुलाई मात्रै पीडित बनाएको छ । अहिलेको ग्रेडिङ प्रणाली होस् वा पहिलेको परीक्षा प्रणाली होस् दुबैले केवल निम्नवर्गीय विद्यार्थीहरुका निम्ति मात्रै व्यवधान खडा गर्न खोजेको देखिन्छ । अझ शिक्षामा समानता ल्याउन सुरु गरिएको भनिने यो प्रणालीले झन् ठूलो असमानता बढाएको छ । विद्यार्थीले पढ्नै नपाउने व्यवस्था गरिएपछि ग्रेडिङ प्रणाली समग्र शिक्षा क्षेत्रमा अन्यौलता थप्ने कारक तत्व सावित हुने देखिन्छ ।

 

यसर्थ समयमै सरोकारवालाहरुले ग्रेडिङ प्रणालीले बढाएका अन्यौलताहरुको समाधानमा जुट्नुपर्दछ । खासगरि गरिब र निमुखा वर्गका छोराछोरीका निम्ति यस प्रणालीले बढाएको भेदभाव अन्त्यका निम्ति राज्य र सरोकारवालाहरु गम्भीर बन्नैपर्दछ । यसको दीर्घकालीन प्रभावबारे गम्भीर बन्दै कार्यान्वयन पक्षमाथि गहिरो समीक्षा गर्दै सच्याइनुपर्दछ । यस प्रणालीलाई निल्नु न ओकल्नुको अवस्थाबाट एउटा निश्चित दिशा दिन सक्नेगरि व्यवस्थित गर्न जरुरी छ।