सेनापतिले प्रमाणपत्र संकलन गरेर छानबिन गर्न थालेपछि नेपाली सेनाभित्र सेनाका राजीनामा दिनेकाे लहर


काठमाडौं पाैष ८। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकारीहरुको व्यक्तिगत शैक्षिक प्रमाणपत्र र नागरिकताको जांच शुरू गरेपछि नेपाली सेनाका सहायक रथी शैलेन्द्र शम्शेर थापाले राजीनामा दिएका छन् ।उच्च सैनिक अधिकारीको राजीनामा दिने क्रम बढेको छ ।

सेनापति थापाले नक्कली शैक्षिक प्रमाणपत्रको जांच र जन्ममिति सच्याएको विवरणमाथि छानबिन गर्न सबै सैनिक अधिकारी र कर्मचारीका प्रमाणपत्र संकलन गरेका छन् ।

 

सेनापतिले प्रमाणपत्र संकलन गरेर छानबिन गर्न थालेपछि नेपाली सेनाभित्र राजीनामा दिने लहर नै चलेको छ । सहायकरथी थापाको पनि शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएको सैनिक स्रोतको दाबी छ । थापालाई शैक्षिक प्रमाणपत्रको विवरण बुझाउन निर्देशन दिएपनि उनले सैनिक मुख्यालयसमक्ष समय माग्दै आएका थिए । सहायकरथी थापाले यसअघिका सवै सैनिक नेतृत्वसंग नजिक रहेर काम गरेका थिए । उनले तत्कालिन सैनिक सचिव प्रेमप्रकाश थापाको माध्यमबाट डेपूटी एमएस भएका थिए । त्यसपछिका प्रधानसेनापति गौरवशमशेर राणाको पालामा उनी एनडिसी गर्न भारत गएका थिए ।

 

उमेर सच्याएको देखिएपछि सेनाका दुई जना सहायकरथीले यसअघि राजिनामा दिएका थिए । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरवारमा कार्यरत सहायकरथी कृष्ण गुरुङ र नेपाल व्याटल स्कुल सालझण्डीमा कार्यरत सहायकरथी गणेश कार्कीले गत महिना राजिनामा दिएका हुन् ।

 

शैक्षिक प्रमाणपत्र र नागरीकतामै समस्या देखिएपछि मैना सुनुवार काण्डमा मुछिएका प्रमुख सेनानी निरन्जन बस्नेत र शान्ति सेनाको मिशनमा रहेका प्रभुकृष्ण खड्काको समेत प्रधानसेनापति थापाले म्याद थप नगरेपछि उनिहरुले अवकास पाएका थिए ।

 

सेनाका अर्का सहायकरथी संजयसिंह भण्डारीको पनि अनलाइन डिग्री रहेको सैनिक स्रोतको दाबी छ । लोकसेवा आयोगले अनलाइनबाट डिग्री गरेकालाई सरकारी सेवामा जागिरको लागी मान्यता नदिएपछि भण्डारीको पनि बढुवा रोकिएको छ । प्रधानसेनापति थापाले अनलाइनबाट डिग्री गरेका सहायकरथी नैनराज दाहालको बढुवा रोकिसकेका छन् । उनको ठाउंमा रघु भण्डारीको दुई तारे जर्नेलमा बढुवा भएको थियो ।

 

सेनामा दिपेन्द्र गुरुंग र द्रव्य भण्डारीले समेत राजिनामा दिने चर्चा छ । सैनिक नियमावलीअनुसार हायर कमाण्ड कोर्स नपाउने भएपनि तत्कालिन प्रधानसेनापतिको कारण अवसर पाएका महासेनानी राजेश चन्दले पनि अवकासको पत्र बुझेको बताईन्छ । उनले स्टाफ कलेजमा चार्ली ग्रेडिङ्ग पाएका थिए । चन्दले आगामी पुष ११ मा अवकास पाउंदैछन् ।

 

संगठन सुधारका लागि महत्वपूर्ण काम गरिरहेका सेनापति थापाले मनपरी, भ्रष्टाचार र अनियमितताको समेत अन्त्य गरिरहेका छन् । विगतमा सैनिक व्यारेकभित्र भइरहेको रजगज अन्त्य भएपछि समेत केही सैनिक अधिकारीले राजीनामा दिइरहेको चर्चा चल्ने गरेको छ ।

 

सेनापति थापाले भीआईपी कोटामा शान्ति सेनामा पठाउने, जर्नेलका घरमा काम गराउने, अनावश्यक भोजभतेरमा संलग्न हुने, विदेशीलाई अनावश्यक भेटघाट गर्ने प्रवृत्तिलाई समेत अन्त्य गरेका छन् । सेनापति आफूले पनि विदेशीलाई भेट्दा मर्यादा ख्याल गर्ने गरेको सैनिक स्रोतले जनाएको छ ।थापालाई भेट्न काठमाडौंस्थित विभिन्न देशका सैनिक सहचारीले कोशिस गरेपनि उनले सैनिक गुप्तचर महानिर्देशनालयका उच्च अधिकारीलाई भेट्न आग्रह गरिरहेको स्रोतको दाबी छ ।

 

संगठन सुधारका लागि सेनापतिले मापदण्ड बनाएर बढुवा गर्ने, भ्रष्टाचार र अनियमितताको आरोप लागेकालाई निरुत्साहित गर्ने, व्यावसायिक अधिकृतलाई प्रोत्साहन गर्ने, खरिद प्रक्रियामा कडाइ गर्दै निगरानी बढाउने काम गर्दै आएका छन् । सेनाका गुल्म, गण र बाहिनीमा हुने वार्षिकोत्सव कार्यक्रममा मदिराजन्य पदार्थ निषेध गराउंदै आर्थिक मितव्यायीता कायम गरिएको बताईन्छ ।