निर्मला हत्या प्रकरण : राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको डीएनए परीक्षण

काठमाडौं, पुस १७ । घटना भएको ५ महिना बितिसक्दा पनि निर्मला हत्या प्रकरणका अभियुक्त सार्वजनिक नभएका बेला आशंकाको आधारमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

 

यद्यपि औपचारिक रुपमा प्रहरीले यसको पुष्टि गरेको छैन । कञ्चनपुर प्रहरीका डिएसपी कृष्णराज ओझाले भने, ‘कतिको डीएनए परीक्षण गरियो, कसको गरियो, खोल्न मिल्दैन । अनुसन्धान जारी छ ।’ स्रोतका अनुसार प्रहरीले डीएनए संकलन गरेका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी भीमदत्त नगरपालिकाकै हुन् ।

 

विभागको सिपाही पदमा कार्यरत उनको डीएनए परीक्षण गराइए पनि संलग्नताको आशंका भने न्यून छ । प्रहरीले शंकास्पद सबैमाथि निगरानी बढाइएको बताएको छ । पछिल्लो समय प्रहरीले निर्मलाका छिमेकीमाथि अनुसन्धान केन्द्रित गरेको बताइन्छ । यसबीचमा प्रहरीले हजारौं कल डिटेलको अध्ययन, विभिन्न सामाजिक सञ्जाल प्रयोकर्ताको आईडीमाथि अनुसन्धान गरेको थियो ।

 

निर्मला हत्या प्रकरणमा यसअघि नै २० जनाभन्दा बढीको डीएनए परीक्षण भइसकेको छ । प्रहरीले निर्मला हत्याको अभियुक्तको आशंकामा दीलिप विष्ट, चक्र बडु, प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ नै गरेर अनुसन्धान गरेको थियो भने बाँकीको रगत परीक्षणमात्रै गरिएको थियो । पेचिलो बन्दै गएको निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीकै कमजोरी देखिएको गृह र प्रहरीकै आन्तरिक प्रतिवेदनले औंल्याएको भए पनि हत्या कसले गरेको हो र घटना कहाँ भएको हो, अन्योल छ ।

 

अनुसन्धानसँग जोडिएका एक अधिकारीले भने, ‘निर्मलाको हत्या उखुबारीमै भएको थियो या आसपासमा भन्नेबारे अनुसन्धान टोली दुविधामा देखिन्छ । घटनास्थलको पहिचान नै नगरी अनुसन्धान गर्दा त्यसले सकारात्मक परिणाम दिने सम्भावना कम रहन्छ ।’

 

हाल कञ्चनपुरमा रहेको सिआइबीको अनुसन्धान टोली र कञ्चनपुर प्रहरी अधिकारीले उखुबारी नै पहिलो र अन्तिम घटनास्थल भएको अनौपचारिक दावी गर्दै आएका छन् भने यसअघिको अनुसन्धान टोलीले उखुबारी नभइ आसपासको क्षेत्र घटनास्थल भएको बताउँदै आएको छ । गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते घर नजिककैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मला हराएकै साँझ प्रहरीलाई खोजीका लागि आग्रह गरेपनि प्रहरीले बेवास्ता गरेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो ।