सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चाेलेन्द्र शमशेर जबरा सर्वसम्मत सिफारिस

काठमाडौं, पुस १७ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चालेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ। प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको हो।

 

समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर जबराको नाम पारित गरेको हो। समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस पारित भएको बताए। यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो। आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जबराले जवाफ दिएका थिए।

 

सांसदहरूले उठाएका विगतमा गरेका फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको जबराले बताए। उनले प्रधानन्यायाधीश भएपछि अदालत र पदको गरिमा राख्ने प्रतिबद्धता जनाए। जबराले आफू न्यायालयको मुहारमा कालो पोतेर र आफ्नो अनुहार आफ्नै हातले कोतरेर रक्ताम्य पारेर बाहिरिने मनशायमा नरहेको बताए।

 

उनले समितससमक्ष प्रस्तुत गरेको कार्यायोजना लागू गर्ने प्रतिबद्धता जनाएका थिए। सांसदका प्रश्नको जवाफमा जबराले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ(आफ्नो मर्यदामा कानुनअनुसार चल्नुपर्ने र एकले अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरे असहजता आउने पनि बताए।

 

उनले आफू प्रधानन्यायाधीश भएर गए सरकारले गर्ने कानुन अनुसारका विकासका काममा न्यायालयबाट बाधा हुने फैसला हुन नदिने बताए। जबराले आजै राष्ट्रपतिबाट शपथ ग्रहण गरेर पदभार ग्रहण गर्ने बताइएको छ।