चालू आर्थिक वर्षको प्रथम पाँच महिनामा आयात ६ खर्बको, निर्यात ३७ अर्बको

काठमाडौँ,पुस १७ । चालू आर्थिक वर्षको प्रथम पाँच महिनामा ६ खर्ब सात अर्ब रुपैयाँको आयात भएको छ । यो परिमाण गत वर्षको यसै अवधिको तुलनामा ३४ प्रतिशत बढी हो । गत वर्ष चार खर्ब ५३ अर्बको आयात भएको थियो ।

 

चालु आवको पहिलो पाँच महिनामा कुल वैदेशिक व्यापार गत वर्षको यसै अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ६ खर्ब ४४ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार भएको छ । यसमा निर्यातको योगदान ५.८ प्रतिशत र आयातको योगदान ९४.२ प्रतिशत छ । गत वर्षको यसै अवधिमा चार खर्ब ८७ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

 

कुल आयातमा पेट्रोलियम पदार्थले ४०.५ र खाद्यान्नले १५ प्रतिशत हिस्सा ओगटेका छन् । टीईपीसीका अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५८.४ प्रतिशतले वृद्धि भएर इन्धन आयात ८७ अर्ब ९९ करोड १६ लाख रुपैयाँ पुगेको छ । खाद्यान्न आयात पनि २८ प्रतिशत वृद्धि भई २१ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ । फलमजन्य वस्तु आयात ४०.७ प्रतिशतले बढेको छ । यस अवधिमा ७३ अर्ब २३ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै ४८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको मेसिनरी तथा पार्टस् आयात भएको छ ।

सवारीसाधन तथा पार्टस् ४४ अर्ब १२ करोड रुपैयाँको आयात भएको छ । यसैगरी २३ अर्ब २३ करोड रुपैयाँको विद्युतीय सामग्री तथा पार्टस्को आयात भएको छ । दुवैको आयात गत वर्षभन्दा बढी हो ।

 

टीईपीसीका अनुसार अत्यधिक परिमाणमा आयात हुनेमा हवाईजहाज तथा पार्टस् पनि छ । पाँच महिनामा १८ अर्ब २६ करोड रुपैयाँको हवाईजहाज तथा पार्टस् आयात भएको छ । यो परिमाण गत वर्षको यसै अवधिमा तुलनामा ३२६।८ प्रतिशत बढी हो ।

 

पाँच महिनामा तीन अर्ब ८२ करोडको यार्न, तीन अर्बको तयारी पोसाक, तीन अर्बको फलाम तथा स्टिलजन्य वस्तु, एक अर्ब ३३ करोडको टेक्सटाइल्स निर्यात भएको छ । नेपालको वैदेशिक व्यापारमा आयाततर्फ भारतको हिस्सा ५८, अन्यको ३९ र चीनको हिस्सा ३ प्रतिशत छ । यस्तै निर्याततर्फ भारतको हिस्सा ६४, चीनको १४ र अन्यको २२ प्रतिशत छ ।

 

पाँच महिनामा ८९ अर्ब ४० करोड ९६ लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । यो अवधिमा ११ अर्बको कृषिजन्य वस्तुको निर्यात भएको छ । चामल १३ अर्ब, तरकारी ६ अर्ब ९८ करोड ८० लाख, मकै पाँच अर्ब १९ करोड, दाल चार अर्ब ९९ करोड, फलफूल पाँच अर्ब ७१ करोड, गहुँ दुई अर्ब ३९ करोड ७१ लाख रुपैयाँको आयात भएको छ । यस्तै पाँच अर्ब ३८ करोडको सोयाविन तेल तथा चार अर्ब ३९ करोड ३८ लाख रुपैयाँको पिना आयात भएको छ ।

 

यस अवधिमा ११ अर्ब ४४ करोड रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ । यसमा एक अर्ब ८६ करोडको जुस, एक अर्ब ९३ करोडको चिया, एक अर्ब २३ करोडको अलैंची, एक अर्ब ६ करोडको जुटको ब्याग, ६५ करोडको दाल, ४३ करोडको चाउचाउ र पास्ता, ६४ करोडको जडीबुटी, २७ करोडको अदुवा र १२ करोडको मासु तथा मासुजन्य पदार्थ निर्यात भएको छ ।