प्रहरी छनोट निष्पक्ष र पारदर्शी बनाउन छनोट स्थलमा सिसीटिभी र सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं, पुस १७ ।प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शीरुपमा दक्ष, सक्षम, निपूर्ण उम्मेद्वार छनोटका लागि कटिबद्ध रहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए। सोका लागि वरिष्ठ प्रहरी अधिकारीबाट सूक्ष्म निरीक्षणसमेत भइरहेको उनको भनाइ छ।

 

छनोट प्रक्रियालाई निष्पक्ष बनाउन भर्ना छनोट भइरहेका स्थानमा विचौलियाको प्रवेशलाई रोक लगाइएको उनले बताए। छनोट परीक्षामा खटिने प्रहरी कर्मचारीलाई भर्ना छनोटको प्रक्रिया ऐन नियमको पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

छनोटमा खटिने प्रहरी कर्मचारी कर्तव्यच्यूत नहुन, विचलित नहुन, निष्पक्ष जिम्मेवारी र दायित्व निर्वाह गर्नसमेत आग्रह गरिएको सुवेदीले बताए।

 

यसपटक छनोट स्थलमा सिसीटिभी राख्नुका साथै मुभी क्यामेरा प्रयोग गरी निग्रानी गरिएको छ। छनोटस्थल नजिकका शङ्कास्पद ठाउँमा सिभिल पोसाकमा प्रहरीसमेत परिचालन गरिएको जनाइएको छ। प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षकका लागि दर्खास्त दिएका उम्मेदवारको लिखित परीक्षा यही सोमबार सकिएको र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षा आगामी माघ ११ गतेदेखि सञ्चालन हुने जनाइएको छ।

 

साथै प्रहरी जवान पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा जनकपुर, सिन्धुली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महाराजगञ्जमा भइरहेको छ । प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५२४ र प्रहरी जवानमा छ हजार २४४ जनाका लागि दर्खास्त आह्वान भएको थियो । रासस