स्वकीय सचिव छैनन्, सांसद बुझ्छन् तलब

काठमाडौं, पुस १८ । सांसदहरुले स्वकीय सचिव नियुक्त नगरेरै तलबभत्ता बुझ्ने गरेको पाइएको छ । यसरी तलब बुझ्नेमा संसदको विभिन्न समितिका सभापतिहरुसहित सांसदहरु रहेका छन् । तर संसद सचिवालयले यसप्रति चासो नदिएको पाइएको छ ।

 

सचिवालयबाट हरेक सांसदका स्वकीय सचिवलाई अधिकृतसरहको ३० हजार ५ सय रुपैयाँ बैंक खातामा जम्मा गर्ने गरिएको छ । यसबाट मासिक १ करोड १७ लाख खर्च हुन्छ । तर, रकम कसले पाउँछ भन्ने बारे सचिवालयलाई कुनै चासो छैन ।समाचार आजको कान्तिपुर दैनिकबाट प्रकाशित भएकाे छ।

 

सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त नगरेपनि तलब उहाँको खातामा जम्मा हुने गरेको छ । कानुन, न्याय तथा मनव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पनि कर्मचारी नियुक्त गर्नुभएको छैन । यस्तै, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले स्वकीय सचिवबाहेक कर्मचारी नियुक्त नगरेरै तलब बुझिरहनुभएको छ । सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले पनि स्वकीय सचिवबाहेक कर्मचारीको तलब आफै बुझ्ने गर्नुभएको पाइएको छ ।

 

स्वकीय सचिवबाहेक अन्य कर्मचारी नियुक्त नगर्नेमा राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिकी सभापति निरादेवी जैरु, कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल तथा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि रहनुभएको छ । अन्य २९ जना सांसदले पनि स्वकीय सचिव नियुक्ति नगरेरै तलब बुझ्ने गरेको छ।