सरकारले नेपाली धागो र कपडा उद्योगलाई सहुलियत दिने निर्णय

काठमाडौं  ,पुस १८ । सरकारले नेपाली धागो उद्योगहरुलाई सहुलियत प्रदान गर्ने भएको छ । कपडा उद्योगीहरु १ मंसिरदेखि उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएपछि सरकारले धागो र कपडा उद्योगलाई सहुलियत दिने निर्णय गरेको हो ।

 

नेपालबाट हाल एक वर्षमा ८ अर्व ४२ करोड रुपैयां बराबरको नेपाली धागो विदेश निर्यात भइरहेको छ । धागो उद्योगीहरुले सहुलियतको लागी लामो समयदेखी सरकारसंग माग गर्दै आएका थिए ।

 

अर्थमन्त्रालयको पहलमा धागो उद्योगलाई सरकारले धागोको कच्चा पदार्थ, उद्योगको लागि आवश्यक पर्ने औजार, लुब्रिकेन्ट्स आदिमा १ प्रतिशत मात्रै भन्सार लगाउनेछ। त्यसैगरी धागो उद्योगका लागि आवश्यक पर्ने विद्युतमा समेत ५० प्रतिशत अनुदान दिने निर्णय पनि सरकारले गरेको छ।

सरकारले सरकारले नेपाली कपडा उद्योगहरुले स्वदेशमा नै उत्पादित धागोलाई नै प्राथमिकतामा राख्नुपर्ने गरी नीतिगत व्यवस्था पनि गर्ने दावी गरेको छ ।

 

उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारीसमा उद्योग संचालनका लागी बैंक कर्जाको ब्याजमा ५ प्रतिशत अनुदान स्वरुप उपलब्ध गराउने व्यवस्थागत निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ।

 

हाल नेपालमा १५ अर्बको लगानी भएका ४ वटा ठूला धागो उद्योग छन् । उनिहरुले १० औ हजारलाई रोजगारी समेत दिएका छन् । नेपाली धागो टर्की, भारत, सिंगापुर, इटाली, बंगलादेश लगायत १० वटा मुलुकमा निर्यात हुने गरेको रेकर्डमा उल्लेख छ ।

 

मन्त्रालयले धागो उत्पादनका लागि आवश्यक पर्ने स्रोत–साधन कमी रहेको तथा भूपरिवेष्टित मुलुकमा कच्चा पदार्थ ल्याउंदा लागत बढी लाग्ने भएकोले सहुलियत दिन आवश्यक भएको जानकारी दिएको छ ।