सरकारले भन्याे- कामदार पठाउने विषयमा जापानसँग सम्झौता भएको छैन (विज्ञप्तिसहित)कारबाही गर्ने चेतावनी

काठमाडौं ,पुस  १८।  कतिपय म्यानपावर कम्पनीहरुले जापानसँग नेपालको श्रम सम्झौता भएको भन्दै विज्ञापन गरिरहेका बेला सरकारले त्यसको खण्डन गर्दै कारबाहीको चेतावनी दिएको छ।

वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गर्दै जापानमा रोजगारीका लागि कुनै खालको सम्झौता नभएको बताएको हो।

‘नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भइ नसकेको र यस विषयको निर्णय पारदर्शि नै हुने हुँदा जापान पठाउने भननि संस्थागत व्यक्तिगत÷कम्पनीबाट गरिएका सबै क्रियाकलापहरु कानुन विपरीत देखिन आएकाले तत्काल यस्ता गतिविधिहरु नगर्न र नगराउन सूचित गरिन्छ’, विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विभागले यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दे नरोकेमा वैदेशिक रोजगार ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।