परिश्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ, वार्षिक १५ लाख आम्दानी तरकारी खेतीबाटै

बैतडी, पुस १९। परिश्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् बैतडीको सुर्नया गाँउपालिका–६ मोतिनगर रौटेका पदमराज भट्ट ।

 

पछिल्लो समयमा युवाहरु विदेश गइरहेका बेला पदमले भने स्वदेशमा नै नाम र दाम कमाइरहेका छन् । भट्टले तरकारी खेतीबाटै मनग्गे आम्दानी गरीरहेका छन् । पदरमराज जिल्लाकै एक कुशल युवा उद्यमीको रुपमा स्थापित भएका छन् । मध्यम वर्गिय परीवारमा जन्मेका पदमले भारतको देहरादुनबाट आइएस्सी पास गरेका हुन् ।

 

उनलाई बुवा कृष्णानन्द भट्टले पढाई गर्नका लागी भारतको देहरादुन पठाउनुभएको हो । पदमका बुवा कृष्णानन्दलाई छोरालाई उच्चशिक्षा हासिल गराई राम्रो जागीर लागेको हेर्ने धोको थियो । तर, आइएस्सी पास गरेर वि.स २०७० सालमा घर फर्किएका पदमले तरकारी खेति गरेर बस्ने भनेपछि घरपरिवार र गाँउलेहरु सबै अचम्मीत भएर यसले के तरकारी खेती गरेर खान्छ भनेको कुरा उनले सम्झिए ।

 

पदमराजले अहिले तरकारी खेतिबाटै वार्षिक १५ लाख बढी कमाउँछन् । सुरुमा बुवाले पदमलाई खेतमा तरकारी लगाउन खेत समेत दिएका थिएनन् ।

 

मकै फल्ने खेतबारी तरकारी रोप्न नदिने भनेपछि पदमले बुवालाई ३ रोपनि जमिन ३ हजार रुपयाँ भाडा तिर्ने सर्तमा लिएका थिए । उहाले त्यो जग्गामा बन्दागोबी रोपेर त्यहि बन्दाबाट ५४ हजार रुपँया आर्जन गरेको र बुवालाई भाडा तिर्न ३ हजार रुपयाँ लगेर गएपछि उल्टै बुवा कृष्णानन्दले काममा सफल भएको भन्दै खुसी भएर ३ हजार थपेर ६ हजार दिएको उनले बताए । बुवाले थपेर दिएको पैसाले त पदमको हौसला झन बढ्यो । पहिलो खेतिबाट राम्रो कमाई गरेका पदमले दोश्रो बर्ष ८ रोपनी जमिनमा बन्दा रोपे ।

 

यसपाली उनलाई परिवारको पनि साथ मिल्यो ५ महिनामै परिवारलाई ३लाख रुपँया दिएका पदमले तेश्रो बर्ष तरकारी बाटै ८ लाख रुपँया आर्जन गरेको छ । हरेक बर्ष उनले बन्दा, काउली, टमाटर, मुला र पालुंगो लगायत सबै प्रकारको तरकारी उत्पादन गरेर बेच्न थालेपछि परीवारका सदस्यहरु खुसी भएका छन् ।

 

तरकारी खेतिका साथै पदमले बाख्रापालन पनि गरीरहेका छन् । अहिले पदमले तरकारी खेती बाख्रापालन व्यवसायबाट वार्षिक १५ लाख रुपयाँ कमाई गर्छन् । उनले खसि बेचेरै हरेक वर्ष १ लाख बढी कमाउने गरेका छन् ।

 

गतसाल पदमले १ लाख २० हजार आर्जन गरे भने यस वर्ष १ लाख १० हजार कमाएको र अहिले पनि ३० भन्दा बढी खसि बाख्रा रहेका छन् । यही पेशा गरेर उनले तराइमा जमिन समेत किनेका छन् ।

 

पदमलाई नमूना उद्यमीको रुपमा विभिन्न कार्यक्रमहरुमा समेत बोलाउने गरिएको छ । धेरै कार्यक्रमहरुमा उनले आफ्नो कथा सुनाइसकेका छन् । जिल्लाका विभीन्न ठाँउमा पुगेर आफुले जानेको र सिकेको सिप पनि सिकाइरहेको उनले बताए ।

 

‘आफुसंग इच्छाशाक्ति भएरपछि विदेश जान पदैन् ।’ उनले भने–‘मेहनत र लगनशिल भएर काम गरे स्वदेशमै राम्रो पैसा कमाउन सकिन्छ ।’ अहिले पदमको प्रगती देखेर गाँउका अरु पनि तरकारी पेसामा आबद्ध भएका छन् ।