नेपाललाई किसानको देश भनिन्छ,यति धेरै कृषि पेशा अपहेलित किन :वरिष्ठ नेता पौडेल

दमौली, पुस १९। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए ।

 

उनले भने, ‘नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।’ जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए ।

 

किसान र काङ्ग्रेसको सम्बन्ध अत्यन्त नजिकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काङ्ग्रेस मात्रै रहेको दाबी गरे । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उनले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो कृषिबाटै सम्भव रहेको बताए । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरको समृद्धिमा सहकारी कोसेढुङ्गा बन्नुपर्ने बताए ।

 

सहकारीका अध्यक्ष लालबहादुर पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारी लगायतले कृषिमा आकर्षण बढाउन सरकारले योजना बनाउनुपर्ने बताए।