वाइड बडी घोटाला काण्ड : मन्त्रीलाई जोगाउने खेलमा सत्तापक्ष

काठमाडौं, पुस २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद वाइड बडी जहाज खरिद गर्दा अनियमितताको आरोप लागेका मन्त्री रवीन्द्र अधिकारी र सचिव प्रेम राईको बचाउमा उभिएका छन्। छानबिनका लागि गठित उपसमितिले संसद्को सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदनमाथि भएको छलफलमा नेकपाका सांसद मन्त्री अधिकारी र सचिव राईको पक्षमा देखिएका हुन्। यो खबर आजको नागरीक दैनिकले छापेको छ ।

 

लेखा समितिबाट गठित उपसमितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र देवसहित पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन पर्यटन सचिवहरु प्रेम राई हाल गृहसचिव र शंखर अधिकारी हाल अवकाशप्राप्त लाई कारबाही सिफारिस गर्दै बुधबार प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले दुइटा वाइड बडी खरिद गर्दा ४ अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको छ। सोही प्रतिवेदनमाथि शुक्रबार समितिमा छलफल भएको थियो। छलफलमा सहभागी अधिकांश सदस्यले प्रतिवेदन अपूर्ण र त्रुटिपूर्ण रहेको टिप्पणी गरे। मन्त्री अधिकारी र सचिव राईलाई गरिएको कारबाही सिफारिस गलत रहेको उनीहरुको धारणा थियो।

 

छलफलमा सहभागी अधिकांश सदस्यले प्रतिवेदन अपूर्ण र त्रुटिपूर्ण रहेको टिप्पणी गरे । मन्त्री रवीन्द्र अधिकारी र सचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिस गलत रहेको उनीहरुको धारणा थियो ।

 

प्रतिवेदनमा पूर्वमन्त्रीहरु देव र शाहीलाई नैतिक कारबाही गर्न सफारिस गरिएको छ भने हालका पर्यटनमन्त्री अधिकारीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उल्लेख छ। त्यसैगरी जहाज खरिद घोटालामा मुख्य भूमिका खेल्न सघाएको भन्दै पर्यटन सचिव देवकोटा, तत्कालीन पर्यटन सचिवहरु राई र अधिकारीलाई तत्काल निलम्बन र कानुनी कारबाही गर्न सिफारिस गरिएको छ।

 

उपसमितिले दिएको प्रतिवेदनमाथि सत्तापक्षका अधिकांश सांसद्ले प्रश्न उठाएपछि परिमार्जन गर्न आवश्यक भएको समितिले औंल्याएको छ। कानुनी विषय तथा कारबाहीको प्रक्रिया परिमार्जन गर्न सभापति भरतकुमार शाहले सोमबारसम्मको समय दिएका छन्।