मनाङमा ठूलो हिमपातको सम्भावना माइनस १८ डिग्री तापक्रम

मनाङ पुस २१। पश्चिमी वायुका कारण उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने देखिएको छ। हिमपात शनिबार सुरु भएर मंगलवारसम्म रहने जल तथा मौसमविद् वरुण पौडेलले बताए।

पौडेलका अनुसार देशभर बदली भई केही ठाउँमा वर्षा हुने र हिमाली जिल्लामा उच्च हिमपात हुने देखिएको छ। मनाङ हालको तापक्रम माइनस १८ डिग्री रहेको छ भने खुला निलो आकाशमा कालो बादल देखिन थालेको छ। अचानक मौसममा हेरफेर भएकाले सेता हिमाल बादलले ढाकेको हो। खोला, धारा लगायत पानीका मुहानहरू जमेका छन्।

 

आगोको छेउमा रहेर दिन बिताउनु पर्ने बाध्यता छ। ‘हिजोसम्म दिन घमाइलो थियो। आजफेरि मौसममा खराबी देखिएको छ’, उनले भने, ‘चिसो त बाह्रै महिना हुन्छ तर यो महिना भने कष्टकर हुन्छ।’ चिसो छल्न गाउँका मानिसहरू मंसिरअन्तिम सातादेखि बाहिरीसकेका छन्। हाल यहाँ सरकारी कार्यालयका कर्मचारी र घर हेर्ने मात्र छन्। विशेषगरी माथिल्लो मनाङ खांसार, थोराङ फेदी, मनाङगाउँ, ङाओल भ्रका, पिसाङ र नार फु लगायत ठाउँका मानिस चिसो छल्न जिल्लाबाट बाहिरिने चलन पुरानै हो।