दुई हेलिकप्टर चिनियाँ कम्पनीलाई बेचियो,राजा विरेन्द्रदेखि राष्ट्रपतिसम्म चढेका थिय


काठमाडौं  पुस २१। तत्कालीन राजा विरेन्द्र शाहदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्म चढेको भीभीआईपी प्रयोगमा आउने हेलिकप्टरमा समस्या आएपछि चिनियाँ कम्पनीलाई बेचिएको छ ।

अतिविशिष्ट भीभीआईपी पदाधिकारीका लागि नेपाली सेनाको हवाई सेवा महानिर्देशनालयले हेलिकप्टर सञ्चालनमा ल्याएको थियो । महानिर्देशनालयले प्रयोगविहीन अवस्थामा रहेको एउटा र बिग्रिने अवस्थामा रहेको अर्को गरी २ हेलिकप्टर हालसालै एक चिनियाँ कम्पनीलाई बेचेको छ ।

 

सन् १९८५ मा ल्याएको ९ एन आरएजी धेरै पहिलेदेखि ग्राउन्डेड अवस्थामा रहेको र सन् १९८९ मा ल्याएको ९ एन आरएजेमा मर्मत गर्दा ४० करोड भन्दा बढी रुपैयाँ खर्च लाग्ने भएपछि बेचिएको सैनिक स्रोतले जनाएको छ ।

 

हेलिकप्टरलाई धेरै समय ग्राउन्डेड अवस्थामा राख्दा बिक्री नहुने भएकाले सेनाले हतारहतारमा बिक्री गरेको छ । दुवै विमानको लिलाम मूल्य ३१ करोड ६६ लाख रुपैयाँ निर्धारण गरिएकोमा कम्पनीले ३२ करोडमा उक्त हेलिकोप्टर किनेको जनाइएको छ ।

 

दुवै हेलिकप्टर तत्कालीन राजा विरेन्द्रले फ्रान्सबाट खरिद गर्न लगाएका थिए । नेपाली सेना अन्तर्गत भएपनि हेलिकप्टर भीभीआईपी सवारीमा प्रयोग हुने गरेका थिए । भीभीआईपी सवारी हुने भएकाले हेलिकप्टरमा विशेष सोफादेखि शौचालयसम्मको व्यवस्था गरिएको थियो ।

संग्रहालयमा राख्ने चर्चा

दुवै हेलिकप्टरको ऐतिहासिक पृष्ठभूमि भएकाले संग्रहालयमा राख्नुपर्ने चर्चा पनि सेनाभित्र चलेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्री र राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टरलाई संग्रहालयमा राख्नुपर्ने मत राखेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि संग्राहलयमा राख्ने प्रस्ताव गरेको स्रोतले जानकारी दियो ।

 

नेपाली सेनाको परामाधिपति भएका कारण राष्ट्रपति भण्डारीसँग पनि हेलिकप्टर बिक्री गर्नुअघि छलफल गरिएको थियो । तर सेनाको हवाई सेवा महानिर्देशनालयका प्रमुख तथा प्राविधिक उपरथी सुधिर श्रेष्ठले राजस्व आउने भन्दै बिक्री गर्न जोडबल गरेका थिए ।

 

चीन पुगेका हेलिकप्टरमध्ये एउटा हाल आगो नियन्त्रणका लागी प्रयोगमा ल्याइएको जानकारी मिलेको सैनिक स्रोतले जनाएको छ । स्रोतका अनुसार ग्राउन्डेड भएको हेलिकप्टर चाहिँ प्रयोगमा आउने छैन । हेलिकप्टर चीनमा पुग्दा चिनियाँ टोलीले स्वागत गरेको थियो ।