पाँचौ नवलपुर महोत्सवको तयारी सुरु

     शाेभा जिसी 

कावासोती पुस २१। आगामी माघ १७ देखि सुरु हुने पाँचौ नवलपुर महोत्सवको तयारी भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव सफल पार्न संघका अध्यक्ष डासुराज पोखरेलको संयोजकत्वमा १ सय ५ जना सदस्य रहने गरी महोत्सव मुल समारोह समिति गठन गरिएको छ ।

 

महोत्सव स्थल कावासोती ३ को बरचुली बौद्व गुम्बामा विहीबार भएको भेलाले पोखरेलको संयोजकत्वमा विहीबार ७५ सदस्यिय मुल समिति गठन गरेको छ । बाँकी ३० जनालाई मनोनित गर्नेगरि समिति गठन गरिएको महासचिव बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसैगरी संघका बरिष्ठ उपाध्यक्ष पुष्प पाण्डेको संयेजकत्वमा अतिथी सत्कार समति गठन गरिएको छ भने महासचिव अर्यालको संयोजकत्वमा सचिवालय व्यबस्थापन समिति गठन गरिएको छ ।

 

भेलाले संघका कोषाध्यक्ष केशव राज भट्टराईको संयोजकत्वमा अर्थिक समिति गठन गरेको छ भने महोत्सवमा हुने गण्डकी प्रदेश स्तरिय लोकदोहोरी गीत प्रतियोगिताको संयोजकमा तेज बहादुर केसीलाई चयन गरेको छ ।

 

भेलामा बोल्दै संघका अध्यक्ष पोखरेलले महोत्सव सफल गराउन सबै क्षेत्रको सहयोग चाहिने भएकाले सबैको सल्लाह सुझाव मार्फत अघि बढ्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।

 

भेलामा शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेल, कावासोती नगरपालिका वडा नंबर ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामा·, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, पत्रकारका तर्फबाट क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठ लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

 

कृषि, पर्यटन, सुचना प्रविधि र जलस्रोत विकासको पुर्वाधार, उद्योग र व्यापार नवलपुर समृद्विको आधार भन्ने मुल नारासहितसुरु हुने महोत्सवमा सबै क्षेत्रको सहभागिता गराएर महोत्सवलाई भव्य रुपमा सफल बनाउनुपर्नेमा सहभागिहरुको जोड थियो । कार्यक्रममा नगरका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।