कलङ्कीमा बस बिसौनी व्यवस्थित गर्न माग १५० होटल तथा अतिथि गृह बन्द हुने सम्भावना

काठमाडौँ, पुस २१ । कलङ्कीमा बस बिसौनी व्यवस्थित गर्न माग गरिएको छ । भएर काठमाडौँ भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको हो ।

 

विगतमा कलङ्की, मकालु तथा त्यस आसपास क्षेत्रमा रोकिँदै आएका सवारी साधन अहिले कलङ्की क्षेत्रको सडक स्तरोन्नति तथा विस्तारपछि सीतापाइलामा पु¥याइएको छ । सीतापाइलामा बस बिसैनी बनाउँदा काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रु समस्यामा परेका छन् । यात्रुहरुलाई खान, बस्नका लागि आवश्यक पूर्वाधारको अभाव देखिएको छ ।

 

कलङ्की आसपासका करीब १५० स्थानीय होटल तथा अतिथि गृह बन्द हुने अवस्थामा पुगेका छन् । कलङ्की होटल एण्ड गेष्ट हाउस एशोसिएशनले जनप्रतिनिधि तथा सरोकार पक्षसँग छलफल गर्न आयोजना गरेको एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय जनतालाई लाभान्वित हुने कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

 

सो क्षेत्रमा विभिन्न तह र वर्गलाई समेट्ने अतिथि गृहको पूर्वाधार तयार भइसकेकाले पाहुनाका लागि उपयुक्त वासस्थान मानिन्छ । कलङ्कीबाट बिहान चाँडै गाडी छुट्ने हुँदा टाढाका यात्रु आएर वास बस्ने गरेका छन् । सबै दृष्टिकोणले ग्राहकको लागि उक्त क्षेत्र सुविधायुक्त भएका कारण बस बिसौनी टाढा राख्न नहुने एशोसिएशनका अध्यक्ष मोहिणिप्रसाद आचार्यले विचार व्यक्त गरे ।

 

नागढढुङ्गा–कलङ्की सडक खण्ड विस्तारको काम फागुनमा पनि नसकिने पक्कापक्की भएको छ । मुआब्जा विवाद रहेकाले सो क्षेत्रका घरलाई नचलाई सडक विस्तारको काम टुंग्याउने गरी मन्त्रिपरिषदले निर्णय गरेपछि यसको निर्माणमा ढिलाई देखिएको हो । कलङ्की थानकोट, नागढुङ्गा नाका हुँदै उपत्यका बाहिरिने तथा भित्र प्रवेश गर्ने सवारीको चापले गर्दा कलङ्कीमा अत्यधिक सवारी जाम हुने गरेको छ ।

 

त्यसैगरी चक्रपथ परिक्रमा गर्ने स्थानीय सवारीको चापले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त भएको ट्राफिक अधिकृत विमल थापाले जानकारी दिए । उनले सरोकार पक्षको माग र यात्रुको सहजतालाई ध्यान दिएर बस बिसौनी हेरफेर गर्न सकिने बताए । रासस