वाइडबडी विमान प्रकरण: जोसुकै भए पनि कारवाही हुनुपर्छ -सभापति देउवा

उर्लाबारी, पुस २२ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ ।

 

पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको  उद्घाटन गर्नुहुँदै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।

 

सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउनुहुँदै उहाँले भन्नुभयो, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाउनुभयो ।

 

उहाँले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने बताउनुभयो । सभापति सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको बताउनुभयो ।

 

कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा डिला सङ्ग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत जिताउन अहिलेदेखि नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिनुभएको थियो ।