हतार–हतारमै उच्च् स्तरिय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन बुझाउने तयारी

काठमाडौं, पुस २२ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो म्याद सकिनै लाग्दा राता रात छलफल गरी हतार हतारमा अन्तिम प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

 

उक्त प्रतिवेदनमा झन्डै तीन दर्जन विषय टुङ्गिन बाँकी रहेकै अवस्थामा आयोगको म्याद आज आइतबार सकिँदैछ । तर आयोगका अध्यक्ष समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार साँझसम्ममा प्रधानमन्त्री केपी ओलीसमक्ष जसरी पनि प्रतिवेदन बुझाउने तयारी गरिरहनुभएको छ ।

 

एक सातादेखि लगातार छलफलमा रहेको समितिमा शनिबारसम्म झन्डै ५१ वटा टुङ्गिन बाँकी रहेको विषयमा छलफल गर्न बाँकी रहेको थियो । तर मन्त्री पोखरेलले सबै विषयमा टुङ्गो लगाएर समयमै प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो– ‘आज आइतबारसम्म प्रतिवेदन तयार गरी बुझाउनेछौं । समय थपेर कामलाई पछि सार्नुभन्दा पनि तोकिएकै समयमा प्रतिवेदन बुझाउने लक्ष्य लिएका छौं ।’

तर अधिकांश सदस्यले पपुलिस्टभन्दा पनि रियालिस्टिक प्रतिवेदन तयार गर्न केही समय थप गर्नुपर्ने राय अघि सारेका छन् ।

 

आयोगलाई निःशुल्क र अनिवार्य, प्राविधिक शिक्षा, करारमा प्रधानाध्यापक, शिक्षक नियुक्तिलगायत एक दर्जनभन्दा बढी बजेट आवश्यक पर्ने विषयसँग जोडिएका विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । शिक्षाले अर्थ मन्त्रालयसँग छलफल गर्दा प्राविधिक र केही अत्यावश्यक विषयबाहेक अन्य शीर्षकमा बजेट दिन नसक्ने उल्लेख गरिसकेको छ ।

 

अब कसरी तोकिएका विषयमा बजेट व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले कुनै उत्तर दिन सकेको छैन । निजी विद्यालयको बारेमा कस्तो धारण राख्ने भन्ने विषय टुङ्गिएको छैन । ७ वर्षभित्र निजी विद्यालयलाई ट्रस्टमा लैजानुपर्ने भन्ने विषयमा के गर्नेलगायतका दुई दर्जनभन्दा बढी विषयमा आयोगले टुङ्गो लगाउन सकेको छैन । (नेपाल समाचारपत्रबाट