क्रान्तिकारी माओवादीद्वारा नेता तामाङलाई अविलम्ब रिहाई गर्न माग

काठमाडौं पुस २२ । नेकपा ,क्रान्तिकारी माओवादी, काठमाडौंले पार्टीका जिल्लाका सचिवालय सदस्य तथा चन्द्रागिरी नपाका इन्चार्ज सुरेश तामाङलाई प्रहरीले विना कसुर पक्राउ गरेको भन्दै अविलम्ब रिहाईको माग गरेको छ । क्रान्तिकारी माओवादी काठमाडौं सेक्रेटरी सरुद्वारा निकालिएको वक्तव्यमा यस्तो माग गरिएको हो ।

 

विना कसुर प्रहरीको सिआइबी टोलीले घरैबाट गिरफ्तार गरी प्रहरी परिसर टेकुमा राखेको उल्लेख गर्दै वक्तव्यमा तामाङ पक्राउको घोर विरोध गरिएको छ । वक्तव्यमा नेता तामाङलाई तत्काल रिहाई नगरे त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सम्बन्धित निकाय हुने समेत चेतावानी दिइएको छ ।

 

यता प्रहरीले भने वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख घोटालाको मुख्य आरोपी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको आरोपमा तामाङलाई गिरफ्तार गरिएको जनाएको छ । क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य समेत रहेका तामाङलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । पारिवारिक स्रोतका अनुसार नेता तामाङलाई घरबाट खाना खाएर बाहिर निस्कन लाग्दा विहान ११ बजे घरैबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।