सरकारले भारतीय ठूला दरका नोट प्रतिबन्धको निर्णय फुकुवा गर्ने तयारी

काठमाडौं पुस २२। नेपाल सरकारले मुलुकमा भारतीय ठूला दरका नोट प्रतिबन्धको निर्णय फुकुवा गर्ने तयारी गरेको छ।यसअघि मन्त्रिपरिषद्को गत मंसिर २४ गतेको बैठकले भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजारको नोट प्रयोगमा रोक लगाएको थियो।

 

तर, निर्णय भएको एक महिनामै नेपाल राष्ट्र बैंकले भारतको रिजर्व बैंक अफ इण्डियालाई ठूला नोट सटहीको प्रस्ताव गरेर २० पुसमा मात्र पत्र पठाएको स्रोतले जनाएको छ।

 

यद्यपि, भारतले यसअघि ५ सय र एक हजार दरका नोट रद्ध गर्दा नेपालसँग रहेका ती नोट साट्नुपर्ने माग कायमै रहेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार राष्ट्र बैंकले आफूहरुसँग भएको पुराना ठूला नोट सँगै नयाँ नोटपनि साट्ने व्यवस्था मिलाइयोस् भन्दै पत्राचार गरेको हो।राष्ट्र बैंकमा अहिले ७ करोड ८५ लाख पूराना भारतीय नोट रहेका छन्।