ए डिभिजन लिग : त्रिभुवन आर्मीद्वारा मछिन्द्र पराजित

काठमाडौँ  पुस २२। विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । आइतबार हल्चोकस्थित मैदानमा लिगको अन्तिम खेलमा मछिन्द्र क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले चौथो स्थान पक्का गरेको हो ।

आर्मीका लागि कप्तान भरत खवासले दुई तथा टङ्क बस्नेतले एक गोल गरे । मछिन्द्रवरुद्धको खेलमा २९औँ मिनेटमा टङ्कले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफपछि आर्मीले थप दुई गोल ग¥यो ।

 

खेलको ६२औँ मिनेट र ७३ औं मिनेटमा भरतले गोल गरेका थिए । आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न सकेको छैन । मछिन्द्र १३ खेलबाट सात अङ्क जोडेर लिगको १३औँ स्थानमा छ ।