विद्यार्थीको कपी जाँच्न २५ हजार घुस, २ पक्राउ

काठमाडौं, पुस २३ । विद्यार्थीको कपी जाँच्दा रकम असुल्ने २ जना पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा सेन्टरमा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट रहेका छन् । प्रहरीका अनुसार विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिने गरेको र विद्यार्थी पास गराउने सबै काम शाहीले गर्ने गरेको पाइएको छ । उनीहरुले विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएको र प्रतिविद्यार्थी २५ हजारसम्म रकम लिने गरेको प्रहरीको भनाइ छ ।

 

पक्राउ परेका शाहीलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको र भाटलाई काठमाडौं परिसरकै हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।