कंसाकारपछि क–कसलाई दल्दैछ क्रान्तिकारी माओवादीले मोसो हेर्नुहोस् लिस्टसहित जानकारीको लागि?

काठमाडौं ,पुस २३।विगतमा अराजक गतिविधि गर्ने दलको पहिचान बनाएको विप्लव माओवादीलाई यसपटक निम्छरो ठानिएको वैद्य माओवादीले माथ खुवाएको छ । सबैलाई आश्चर्यमा पार्दै यो पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले वाइडबडी खरिद प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा गएर कालोमोसो दलिदिएका छन् । कालोमोसो प्रकरणले सामाजिक सञ्जाल तातिरहेका बेला यो संगठनको सिकार को–को बन्दै छन् भन्ने जिज्ञासा उब्जिएको छ ।

 

स्रोतका अनुसार, वैद्यनिकट युवा संगठनको कालोसूचीमा कंसाकार मात्र नभएर दर्जनौं भ्रष्टाचारीहरु चढेका छन् । वाइडबडी जहाज प्रकरणसँगै जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी तथा पूर्वमन्त्री जीवनबहादुर शाही पनि हटलिस्टको अगंपंक्तिमा छन् । सुरक्षाका कारण उनीहरु यो संगठनको निशानामा पर्नबाट जोगिँदै आए पनि कुनै पनि बेला उनीहरुमाथि समेत कालोमोसो दलिने खतरा छ ।

 

फोरमको कोटाबाट विगतमा मन्त्री बनेका र हाल कांग्रेसी बनिसकेका जीतेन्द्र देवलाई पनि वैद्यको युवा संगठनले भेट्नेबित्तिकै कालोमोसो दल्न टोली परिचालन गरेको छ । वाइडबडी खरिद प्रकरणमा जोडिएका हालका गृह सचिव प्रेमकुमार राईसँग पनि युवा लिग आक्रोसित छ ।

 

सिंहदरबारभित्र आएर राईमाथि कालोमोसो दल्ने ल्याकत यो संगठनसँग नभए पनि बाटो ढुकेर बसेका युवा लिगका कार्यकर्ताले जुनसुकै बेला उनलाई निशानामा पार्न सक्ने खतरा छ । वैद्यको युवा लिगका संयोजक अमिर रञ्जितले  वाइडबडी प्रकरणसँग जोडिएका सबै आफ्नो संगठनको कारबाही सूचीमा चढेको बताए । कालोमोसो दल्ने सूचीमा चढे पनि उपयुक्त अवसर नजुरेकाले उनीहरु छुटेको उनको भनाइ छ ।

 

वाइडबडी प्रकरणमा कंसाकार मात्र नभएर अरु पनि संलग्न छन् । तर निशानामा त कंसाकार मात्रै परेको देखियो नि भन्ने   जिज्ञासामा महर्जनले भने– कंसाकारलाई दल्न हाम्रो सामर्थ्यले भ्यायो । दल्यौं  तर, अरुलाई दल्न उपयुक्त अवसर जुटेको छैन । अवसर मिल्यो भने सबैलाई दल्छौं ।’

 

वाइडबडी प्रकरणका अतिरिक्त अन्य भ्रष्टाचारमा संलग्नलाई पनि युवा लिगले कारबाहीको सूचीमा राखेको छ । एक्सनमै उत्रनु पहिले युवा लिगलाइ उसले सचेत गराउने र यसो गर्दा पनि अटेरी गरे गौडो ढुकेर सार्वजनिक बेइज्जती गराउने यो संगठनको तयारी छ । ‘यदि कसैले हाम्रा आग्रह बेवास्ता गर्दै भ्रष्टाचार तथा अनियमितता गर्छन् भने हामी आफ्नो क्षमताले भ्याएसम्म त्यसको प्रतिरोध गर्छौं’ महर्जनले भने ।