वाइडबडी विमान प्रकरण: बहालवाला पर्यटन मन्त्रीसहित पूर्व मन्त्रीलाई कारबाहीको सिफारिस

काठमाडौँ, पुस २४ । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।  

 

समितिको बैठकले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत दोषी किटान गरेको छ । लेखा समितिले दुई पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि दोषी किटान गरेको हो ।

 

समितिले तयार पारेको परिमार्जित प्रतिवेदनमा मन्त्रीहरुले नैतिक जिम्मेवारी मात्रै लिए हुने भन्ने व्यहोरा रहेकोमा त्यसप्रति उपसमिति सदस्यहरुले विरोध जनाएपछि उपसमितिले नै दिएको प्रतिवेदनका आधारमा बाहालवाला पर्यटन मन्त्रि तथा पुर्व मन्त्रिहरुलाई कारबाहीका लागि निर्देशन दिएको हो ।

 

समितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र पर्यटनसचिव कृष्णप्रसाद देवकोटालाई मुख्य दोषी किटान गरेको छ ।उनीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको सजाय दिन सिफारिस गरेको छ ।समितिले अनियमिताबारे छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

 

तर समितिले मन्त्रालयका तत्कालीन सचिव तथा वायुसेवा निगमका सञ्चालक समितिका अध्यक्ष रहेका प्रेमकुमार राईलाई दोषी मान्ने स्पष्ट आधार नखुलेको भन्दै समितिलाई क्लिन चिट दिएको छ ।हाल गृह सचिव रहेका राईलाई लेखा समितिअन्तर्गत गठित उपसमितिले विमान खरिदमा दोषी रहेको उल्लेख गरेको थियो ।