गोठमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु

बागलुङ,पुस २५ । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ ।मंगलवार बेलुका लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभयो ।

 

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो ।

 

आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।रासस