कांग्रेस सांसद सिंहको सुरक्षामा खटिएका सुरक्षाकर्मी गृहसचिव राईको आदेशपछि फिर्ता

काठमाडौं  , पुस २६ ।नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले लिइरहेको अनावश्यक सरकारी सुविधा खोसिएको छ । सांसद सिंहले विगत लामो समयदेखि पाँच सुरक्षाकर्मी र गाडी लिइरहेको थाहा पाएपछि सरकारले अनावश्यक सुविधा खोसेको हो ।

 
सांसदलाई सामान्य अवस्थामा सुरक्षाकर्मी सुविधा दिने गरिएको छैन । सिंहले गाडी सुविधा समेत नलिइरहेको पाएपछि गृह मन्त्रालयले सुविधा खोसेको हो । सांसद सिंहले सुरक्षा र गाडी सुविधा लिइरहनु आवश्यक नदेखिएकाले सुविधा खोसिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

 

सरकारले आर्थिक मीतव्ययीता र अनावश्यक खर्चलाई घटाउने नीति लिएको छ । सांसद सिंह पुस १७ गते संसद बैठकमा बोल्दै वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएकाले सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका थिए ।

 

सांसद सिंहले नैतिकता सिकाइरहँदा उनले अनावश्यक रुपमा सरकारी सुविधा लिइरहेका थिए । गृह मन्त्रालयको एउटा आदेशमा उनको सुविधा खोसिएको पाइएको छ ।

सांसद सिंहसँग नेपाल प्रहरीबाट तीन, सशस्त्रबाट दुई जना सुरक्षाकर्मी र गृहमन्त्रालयको गाडी रहेको थियो । गृहसचिव प्रेमकुमार राईले सांसद सिंहलाई सुरक्षा दिनुको औचित्य माग गरेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्रका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तुरुन्त सुविधा झिकाएका थिए ।

 

सांसद सिंहले सुरक्षाका लागि भन्दै आफूसँग राखेका सुरक्षाकर्मीलाई व्यक्तिगत काममा लगाउने गरेको गुनासो समेत गृह मन्त्रालयमा पुगेको थियो । सांसद सिंह पटक–पटक विवादित अभिव्यक्ति दिएर चर्चामा आउने गरेका छन् ।