सरकार र उखु व्यवसायीबीच सहमति

महोत्तरी, पुस २६। सरकारले निर्धारण गरेको मूल्यमा उखु खरिद गर्न चिनी उद्योगी सहमत भएका छन् । बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् ।

उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको हो।

 

सरकारले चालू आर्थिक वर्ष २०७५र७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरेको छ । आजको छलफलमा १४ वटा चिनी कारखानामध्ये १२ वटा चिनी कारखानाका सञ्चालक र किसानका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

उद्योगीले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न नसक्ने अडान राखेपछि किसान अन्यौलमा परेका थिए । यता पुसको तेस्रो साता बिति सक्दासमेत चिनी कारखाना सञ्चालन नभएपछि उखु खेतमै सुक्न थालेकाले उखु किसान चिन्तित रहेका छन् ।