बाबुरामको प्रस्ताव हरेक १८ वर्ष पुगेका नेपालीलाई फौजी तालिम दिनुपर्छ

काठमाडौं पुस ३०। नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री तथा डा बाबुराम भट्टराईले १८ वर्ष उमेर पुगेका हरेक नेपालीलाई फौजी तालिम दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।

सोमबार राजधानीमा आयोजित ‘नेपालको भूराजनैतिक महत्त्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक अन्तर्क्रियामा पूूर्वप्रम भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने बताए।

 

बाह्य शक्तिबाट बच्न सेना र हातहतियारमा खर्च गर्नु भन्दा मिलिसिया तालिम सञ्चालन गर्नुपर्ने बताउँदै उनले भने, ‘सेनामा लगानी गर्नुभन्दा जनतामा लगानी गरेर देशलाई बाह्य आक्रमणबाट जोगाउन सकिन्छ।’

 

संयोजक भट्टराईले अन्य देशसँगको आक्रमणबाट बच्नका लागि हतियार खरिद गर्नुभन्दा सो लगानी नागरिकलाई गर्न सके मुलुकमा विकास र समृद्धिको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गरे। उनले नेपालले कुनै पनि राष्ट्रसँग आक्रमण गर्नुभन्दा शान्ति क्षेत्र कायम राखेर अघि बढ्ने प्रस्ताव राख्नुपर्ने पनि बताए।