राप्रपा एकीकरण ‘राजा’को मुद्दाले अड्कियो

काठमाडौं, माघ १। राष्ट्रिय प्रजातन्त्र पार्टीको तीनवटै भंगालोका नेताहरू एकीकरणको गीत गाएर कहिले थाक्ने गरेका छैनन् । तर, एकीकरणको प्रक्रिया भने एक इञ्च पनि अगाडि बढ्न सकेको छैन ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कार्यशैलीप्रति विद्रोह गर्दै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत एकदर्जन जति पदाधिकारीहरूले लगभग दुई महिना अगाडि नै पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक)सँग एकीकरण गर्ने सहमति गरेका थिए । तर, वरिष्ठ उपाध्यक्ष तामाङले धोकाधडी दिंदै दोधारे कुरा गर्न थालेपछि एकता भाँडियो ।

 

राप्रपा प्रजातान्त्रिकले राजसंस्थाका सम्बन्धमा स्पष्ट धारणा नल्याएपछि राप्रपाको यो विद्रोही समूहको राप्रपा प्रजातान्त्रिकसँगको एकीकरण त्यसै थन्किएको छ ।

राप्रपा(प्रजातान्त्रिक)ले राजसंस्थाका सम्बन्धमा स्पष्ट धारणा राख्दै राजसंस्थालाई पनि स्थान दिनुपर्ने गरी प्रस्ताव पास गरेमात्र एकीकरण हुने राप्रपाका असन्तुष्ट नेताहरूको सर्तलाई राप्रपा(प्रजातान्त्रिक)ले अहिलेसम्म सम्बोधन गर्नेतिर कुनै पहल नगरेको विद्रोही समूहका एक नेताले बताए ।

 

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी संवैधानिक राजतन्त्रका सम्बन्धमा स्पष्ट भएपनि अध्यक्ष कमल थापाको कार्यशैली शंकास्पद भएको र संवैधानिक राजतन्त्रको समर्थन गरेपनि व्यवहारमा नदेखिएकोले राप्रपामा आफूहरू अटाउन नसकेको असन्तुष्ट पदाधिकारीहरूको भनाई रहेको छ ।

राप्रपा त्याग गरेर राप्रपा प्रजातान्त्रिकसँग एकीकरण गर्नुपर्छ भन्ने टोलीको नेतृत्व गरेका वरिष्ठ उपाध्यक्ष तामाङले आफ्नो बोली फेर्दै एकपटक राप्रपा अध्यक्ष कमल थापासँग छलफल गर्नुपर्छ भन्ने प्रस्ताव राखेपछि असन्तुष्ट समूह अन्योलमा पर्न गएको खबर छ ।

राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा राजसंस्थाका सम्बन्धमा मौन बसेर नै एकीकरणको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने पक्षमा रहेका छन् । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले राजसंस्थाका सम्बन्धमा स्पष्ट धारणा नराखेकै कारणले गर्दा राप्रपाका असन्तुष्ट समूह र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपाकाबीचमा एकीकरण हुन सकिराखेको छैन । उता, एकीकरणको पक्षमा कायम रहेको देखाउदैं राप्रपाका अध्यक्ष कमल थापाले एकीकरणलाई पर्खेर बसेको बताउने गरेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा र एकीकृत राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी मुखले एकीकरणको पक्षमा भएपनि व्यवहारमा भने आफ्नो अलग चुलो नै कायम राख्ने व्यवहार गरिराखेकाले राप्रपा एकीकरण प्रक्रिया अगाडि बढ्न नसकेको गुनासो रहेको छ ।

तीनवटा भंगालोमा विभाजित अवस्थामा रहेका महापञ्चहरूको राप्रपा एकीकरणको बेसुरो राग सुनेर यी पार्टीका अन्य नेता कार्यकर्ता मात्र होइन, पूर्व नेपाल नरेश ज्ञानेन्द्र शाह समेत वाक्क हुन थालेको निर्मल निवास स्रोत बताउछ ।(साँघु साप्ताहिक,)