भ्रष्टाचारको विरुद्ध तथा असल राजनीतिको पक्षमा बाबुराम भट्टराईले एकमहिने मेची देखी काली सम्म अभियानको थालनी गर्दै

काठमाडौं । भ्रष्टाचारको विरुद्ध तथा असल राजनीतिको पक्षमा डा बाबुराम भट्टराईले एकमहिने पूर्व-पश्चिम अभियानको थालनी गर्न लाग्नुभएको छ । डा‌ भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले असल राजनीतिका लागि एक महिने ‘जनसंवाद यात्रा’ अभियान सञ्चालन गर्ने भएको हो ।

अभियानको नेतृत्वको गर्दै संयोजक भट्टराईले पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नुहुनेछ । अभियानमा एक महिनाभरि नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी हुनुहुनेछ ।

 

‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’को नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । ‘नयाँ शक्तिको लुम्बिनी बैठकको वैचारिक कोषेढुंगापछि यसलाई सांगठनिक कोषेढुंगा बनाउँदैछौँ,’ अभियानको उद्देश्यबारे चर्चा गर्दै संयोजक भट्टराईले भन्नुभयो ।

 

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रियारछलफल गरिने उहाँले स्पष्ट पार्नुभयो ।

 

‘केन्द्रदेखि स्थानीय तहसम्म राजनीति भ्रष्टाचारको दुष्चक्रममा रुमल्लिएको छु,’ संयोजक भट्टराई भन्नुहुन्छ, ‘भ्रष्टाचारको जालो नतोडेसम्म र अहिलेको संरचनात्मक अवरोध अर्थात् राजनीतिक सिन्डिकेट नतोडी मुलुकलाई समृद्धिको दिशामा तीव्र ढंगले अगाडि बढाउन सकिन्न ।’उहाँले स्थानीय तहदेखि नै असल राजनीतिकालागि एउटा जागरणको आवश्यकता देखिएकोले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

गाउँ-शहरमा घुम्दा स्थानीय जनप्रतिनिधिहरु टुहुराटुहुरीजस्तै अविभावकविहिनजस्तै पाएको उहाँको अनुभूति छ । ‘संघीयताको सशक्त कार्यान्वयन गर्दै समावेशी विकासलाई प्रवर्द्धन गर्न सत्ता सञ्चालकहरु उदासीन छन्’, उहाँले भन्नुभयो, ‘संघीयतालाई पञ्चायतकालीन विकेन्द्रीकरणको तहमा खुम्च्याएर सिंहदरबारको निगाहमा चलाउन खोज्ने दुस्साहसविरुद्ध हामी स्थानीय जनप्रतिनिधिसँग संवाद गर्नेछौं र संघीयताको मर्मको बारेमा स्पष्ट पार्नेछौं ।’

संघीयतालाई शासकको दया र निगाहभन्दा स्थानीय तहको अधिकारको रुपमा स्थापित गर्न ढिला भइसकेको डा भट्टराईको बुझाइ छ ।

युरोप र अमेरिकाबाट सिकेको ज्ञान नागरिकसँग बाँड्ने

आफूले हालसालै युरोप र अमेरिकाको भ्रमण गरेर विज्ञान, दर्शन, अर्थतन्त्र र राजनीतिक क्षेत्रमा आएका परिवर्तनबारे अध्ययन गरेको भन्दै संयोजक भट्टराईले एकपटक दूरदराजका नागरिकसँग प्रत्यक्ष संवाद गर्न चाहेकोले एक महिनासम्म निरन्तर सञ्चालन गरिने अभियानमा आफू प्रत्यक्ष सहभागी हुन लागेको डा भट्टराईले स्पष्ट पार्नुभयो ।

 

उहाँका अनुसार अभियानको क्रममा विकास र समृद्धिको मार्गचित्रबारे स्पष्टता हासिल गर्ने, स्थानीय जनताको समस्या र बुझाइबारे जानकारी हासिल गर्ने, समृद्धिको सपनालाई विपनामा रुपान्तरण गर्न असल राजनीतिक अभ्यासलाई अगाडि बढाउन भूमिका खेल्ने लगायतका उद्देश्य राखिएको छ ।

 

अभियानको पूर्वतयारीको रुपमा पार्टीका हेडक्वार्टर सदस्यहरु गंगा श्रेष्ठ, प्रशान्त सिंह र युवा शक्ति नेपालका उपाध्यक्ष भीम पराजुलीले अभियान सञ्चालित हुने मार्गको अध्ययन, अनुसन्धान गरेर काठमाडौं फर्किसक्नुभएको छ ।

 

अभियानको क्रममा पुष्पलाल लोकमार्ग आसपास अन्तरक्रिया, कोणसभा, पैदलयात्रा आदिका माध्यमबाट जनसंवाद गरिने योजना रहेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।