चितुवाको आक्रमणबाट एक घाइते

बैतडी, माघ १५ । बैतडीको शिवनाथ गाउँपालिका–४ मकैलमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । सोमबार साँझ साढे ७ बजेतिर आफ्नै घरको आगनमा मकैलकी ४० वर्षीया दुरा चन्दलाई चितुवाले आक्रमण गरेको शर्मालीका प्रहरीचौकी प्रहरी सहायक निरीक्षक धनबहादुर खड्काले जानकारी दिए।

 

घाइते चन्दको दुवै खुट्टामा घाउ रहेको र अवस्था समान्य रहेको खड्काले बताए । चन्दको उदयदेव स्वासथ्यचौकीमा उपचार गरिएको छ । घाइते चन्दकी ३ बर्षीया छोरी चञ्चला चन्दको २०७३ सालमा चितुवाले आक्रमणबाट ज्यान गएको थियो।

 

यही माघ २ गते  विद्यालय गइरहेका शिवनाथ–६ बसेडीका ११ वर्षीय रवीन्द्र धनाडीलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । गत पौष ११ गते शिवनाथ ६ कै हिउँकला धनाडी पनि चितुवाको आक्रमणबाट घाइते भएकी थिइन् ।

 

२०६८ साल यता चितुवाको आक्रमणबाट जिल्लाको तल्लोसोराड क्षेत्रमा २३ जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । स्थानीयले चितुवालाई मार्नुपर्ने माग गरेका छन् ।