शिक्षक बनाइदिने भन्दै घुस माग्ने विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

काठमाडौँ, फागुन १२ । शिक्षक पदमा नियुक्ति दिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले एक युवकसँग घुस लिएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक शिक्षकमा नियुक्ति गरिदिने भन्दै घुस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ।

 

उक्त अभियोगमा कपिलवस्तु यशोधरा गाउँपालिका–३ कृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समितिका सदस्य विजयनाथ चोवेलाई पक्राउ गरेको छ । विद्यालयले विज्ञापन गरेको अङ्ग्रेजी विषयको माध्यमिक विद्यालय तहको अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गरिदिने भन्दै चोवेलाई रु एक लाख घुस लिँदै गरेको अवस्थामा आयोगको एक टोलीले शनिबार पक्राउ गरेको हो।

 

प्रवक्ता रामेश्वर दङ्गालका अनुसार आयोगले कपिलवस्तु नपा-१ को एक होटलबाट चोवेलाई शनिबार पक्राउ गरेको हो। यस्तै सप्तरीको साबिक खोक्सर प्रवाहा गाविसका तत्कालीन गाविस सचिव कृष्णबहादुर दाहाल समेतले सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

 

तत्कालीन गाविस सचिव दाहालले गाविसका लागि निकासा भएको सरकारी अनुदान रकमको स्रेस्ता बरबुझारथ, लेखापरीक्षणसमेत नगरी रु पाँच लाख ३३ हजार ८०० बराबरको हिनामिना गरेको पाइएको आयोगले जनाएको छ।

 

यस्तै आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका बाइसीदेवी प्राथमिक विद्यालयमा अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई परीक्षामा सामेल गरेको भन्ने उजुरीका आधारमा शिक्षक वाल्मीकि गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

अस्थायी अध्यापन अनुमतिपत्रमा अनधिकृत र गैरकानूनी तवरले म्याद उल्लेख भएको भाग मेटाई झुट्टा विवरण पेश गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

रासस