महिला टी–२० विश्वकप छनोटमा नेपालले चीनलाई ५ रनले हरायो

काठमाडौं, फागुन १३ । आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई हराएको छ ।सोमबार थाइल्यान्डको बैंककमा भएको खेलमा नेपाल ५ रनले विजयी भएको हो । ७८ रनको चुनौती पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रनमात्र बनाउन सक्यो ।

 

झाङ मेइले सर्वाधिक ३३ रन बनाएको इनिङ्समा नेपालका सीता रानामगरले ३ तथा कविता कुँवरले १ विकेट लिए । दुई खेलाडी ‘रनआउट’ भए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

 

काजल श्रेष्ठले १८ रन जोड्दा अलराउन्डर सीताले ११ रन बनाइन् । त्यसैगरी, विन्दु रावलले १० रन बनाइन् । त्यसबाहेक कुनैपनि खेलाडीले दोहोरो योगफल जोड्न सकेनन् ।

 

प्रतियोगितामा नेपाल पाँचमध्ये चार खेलमा सफलता हासिल गर्दै ८ अंकसहित तेस्रो स्थानमा पुग्न सफल भएको छ । यो प्रतियोगिता जित्ने टिममात्र विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले नेपाल अझै दबाबमा छ ।

 

आयोजक थाइल्यान्ड ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ भने युएई ८ अंकसहित दोस्रो स्थानमा छ । अब नेपालले बाँकी खेल जितेरमात्र पुग्ने छैन, थाइल्यान्डले पनि बाँकी प्रतिस्पर्धीसित भारी अन्तरको हार व्यहोर्नुपर्नेछ ।