भारतीय वायु सेनाका पाइलटलाई रिहा गरिदिन्छौं- पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं। भारत प्रशारित जम्मू -कश्मिरमा बुधबार पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय एयरफोर्सका विंग कमाण्डर पाइलट अभिनन्दनलाई रिहा गरिने पाकिस्तानी प्रधानमन्त्री इमारान खानले बताएका छन् । प्रधानमन्त्री इमरान खानले शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका हुन् ।

बुधबार पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ परेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो । संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले ‘पिस गेस्चर (शान्ति संकेत)’ का रुपमा पाइलटलाई रिहा गर्न लागिएको बताए । पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका चालक अभिनन्दनलाई शुक्रबार भारतलाई बुझाइदिने जानकारी दिएका हुन्।

 

यसअघि बुधबार नयाँ दिल्लीस्थिति पाकिस्तानका कार्यवाहक राजदूतलाई भारतले ती चालकलाई रिहा गर्न माग गरेको थियो। पाकिस्तानको यो कदमसँगै दुई दिन यता चुलिएको भारत-पाक तनाव विस्तारै मत्थर हुने अपेक्षा गरिएको छ। बुधबार विवादीत कस्मिरमा भारतीय वायु सेनाको जहाज पाकिस्तानले खसालेपछि दुई देशको सम्बन्धको तनाव झन् चर्किने आशंका बढेको थियो।

 

भारतीय वायु सेनाको विमान खसेको २४ घन्टासम्म पनि भारतले कुनै जवाफी कारबाही गरेको छैन। र उसले त्यस्तो गर्ने संकेतहरू पनि देखिएको छैन। बरू भारतले पाकिस्तानले नियन्त्रणमा लिएका वायु सेनाका आफ्ना पाइलटलाई फिर्ता गरिदिन माग गरेको छ। भारतीय जहाज खसेको केहीबेरपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा सल्लाहकार अजित डोभलसहित अधिकारीहरूको आकस्मिक बैठक बोलाएका थिए।उक्त बैठकले पाकिस्तानमाथि थप जवाफी कारबाही गर्ने निर्णय गरेन बरू आफ्ना पाइलटलाई फिर्ता गर्न माग र्गयो।

 

दिल्लीस्थित पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएर भारतीय विदेश मन्त्रालयले पाकिस्तानी नियन्त्रणमा रहेका आफ्ना पाइलटलाई तुरून्त रिहा गर्न माग गरेको छ। भारतले मंगलबार पाकिस्तानी भूमिमा छिरेर बमवारी गरेदेखि नै दुबै मुलुकको द्वन्द्व चर्काउने चाहना नभएको बताएका थिए।मंगलबारको आक्रमणपछि पत्रकार सम्मेलन गर्दै भारतीय विदेश मन्त्रालयले यो आक्रमणको सैनिक र नागरिकलाई क्षति र्पुयाउने लक्ष्य नभएको बताएको थियो।