दुम्सी रोक्न सारीको बार

काठमाडौं,फागुन २९। किसानका खेतबारी सारी र तन्नाले घेरिएका छन् । ती सारी र तन्ना सुकाइएका पनि होइनन् । आफूहरूले लगाएको खेती दुम्सीलगायतका वन्यजन्तुले नष्ट गर्न थालेपछि तिनलाई धपाउन प्रयोग गरिएको यो नयाँ प्रविधि हो। त्यतिले मात्र पुग्दैन दिनभर बा“दर लखेट्नु र रातभर दुम्सी धपाउनु बागलुङ नगरपालिका १४ कैयाका स्थानीयको दिनचर्या बनेको छ ।

किसानले लगाएका आलु र अन्नबाली दिनभर बाँदरले र रातभर दुम्सीले नष्ट गर्न थालेपछि यहाँका करिब एक सय घरपरिवारले दिनरात नै कष्ट व्यहोर्नु परेको छ । मिहिनेत गरेर लगाएको आलुलगायतका बाली जोगाउन स्थानीय दिउँसो र रातिसमेत खेतैमा हुन्छन् । मानिस नभएको चाल पाएपछि नजिकैको जङ्गलबाट दुम्सीका हुल नै खेतमा पसेर आलु खाइदिने गरेको स्थानीय किसान दुर्गादेवी शर्मा ढकालले गुनासो गर्नुभयो ।

 

ढकालले भन्नुभयो, दुम्सी निकै बाठो हुँदो रहेछ । मानिस देखेपछि लुक्छ । मानिस हिँडेपछि बाली खान आइपुग्छ । त्यसैले मानिस भएको भान पार्न खेतवरपर महिलाको साडीले बार्न थालिएको छ। महिलाको साडी देखेपछि दुम्सी भाग्ने गरेको आफूले सुनेपछि यस्तो उपाय अपनाएको ढकालको भनाइ छ । उहाँ यस्तो तरिका अपनाउँदा दुम्सी खेतमा पस्न केही कम भने भएको बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।