दुई हजार थान त्रिपाल भन्सारमा अलपत्र

नेपालगञ्ज, चैत २२ । भूकम्पपीडितलाई सहयोगका लागि भनेर भारतबाट ल्याइएका करिब दुई हजार थान त्रिपाल गत तीन बर्षदेखि नेपालगञ्ज भन्सार कार्यालयको गोदाममा अलपत्र परेको छ ।

 

पीडितका लागि २०७२ असार २४ गते भारतबाट त्रिपाल ल्याइए पनि भन्सार छुटको समय सकिएकोले महसुल नतिरेका कारण एक हजार ९३० थान त्रिपाल भन्सार गोदाममै अलपत्र परेको हो ।

 

२०७२ असार २२ गतेसम्मका लागि मात्र भूकम्पपीडितका लागि ल्याउने राहत सामाग्रीमा भन्सार महसुल छुट गरिएको भएपनि ती त्रिपाल २४ गते आएकाले भन्सारमा रोकिन पुगेको थियो । त्यसपछि कोही पनि त्रिपालबारे सोधपुछ गर्न नआएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत परमानन्द जोशीले बताउनुभयो ।

 

त्रिपालका बारेमा दावी र सोधपुछ गर्न कोही नआएपछि करिब एक बर्षसम्म कार्यालयको चौरमा त्रिपाल राखिएको जनाउँदै अधिकृत जोशीले त्यसपछि गोदाममा लगेर राखिएको बताउनुभयो ।

जोशीका अनुसार ती त्रिपालहरु लामो समय खुला चौरमा राखिएका कारण केही च्यातिएर काम नलाग्ने अवस्थामा रहेको र केही राम्रो अवस्थामा रहेको बताउनुभयो ।

 

भन्सार कम्पाउण्डभित्र तीन बर्षभन्दा पनि बढी समयदेखि राखिएका ती बेवारिसे त्रिपाललाई पीडितसम्म पु¥याउन वा कुनै विपदका काममा प्रयोग गर्न कसैबाट कुनै पहल नभएको जोशीले बताउनुभयो ।

 

सो त्रिपाल ब्यक्ति वा संस्था कस्ले ल्याएको हो भन्ने कुनै प्रमाण वा कागजपत्र समेत नरहेको उहाँले बताउनुभयो । त्रिपाल कहाँ प्रयोग गर्ने विषयमा भन्सार कार्यालय समेत अन्यौलमा रहेको उहाँको भनाई छ ।

 

एक त्रिपालको मूल्य करिब पाँच हजार रुपियाँ पर्ने जोशीले बताउनुभयो । उहाँकाअनुसार एक हजार नौ सय ३० थान त्रिपालको करिब एक करोड रुपियाँ मूल्य पर्ने देखिन्छ । हावाहुरीका कारण बारा जिल्लाका सयौं परिवार खुला आकाशमुनि बसेका छन् ।

 

भन्सार कार्यालयमा अलपत्र परेको ती त्रिपाललाई पीडितका लागि पठाउन सकिने विषयको जिज्ञासामा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी तथा दैवी प्रकोप उद्धार समिति बाँकेका अध्यक्ष मोहन अर्यालले सो बारेमा केन्द्रले निर्णय गर्नुपर्ने बताउनुभयो ।

 

केन्द्रले निर्णय गरेमा तत्काल सो क्षेत्रमा त्रिपाल पठाउन सकिने उहाँले बताउनुभयो । सो त्रिपाल ल्याएर आउने ब्यक्ति वा संस्थाले तीन बर्षसम्म कुनै सम्पर्क नगरेकाले अब कानुनी प्रक्रिया अनुसार नर्णय गरी त्रिपाल पीडितसम्म पु¥याउनुपर्ने उहाँले बताउनुभयो । गोरखापत्र दैनिकबाट।