प्रधानमन्त्री मोदीले गरे गुजरातमा मतदान

 

अहमदावाद, वैशाख १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदावादमा मतदान गरेका छन् ।

प्रधानमन्त्री मोदीले अहमदावादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका थिए । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ ।

 

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदानस्थल पुगेका थिए । शाह पनि गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यका उम्मेदवार बनेका छन् । शाहले पनि गुजरातमै मतदान गरेका थिए ।

 

प्रधानमन्त्रीले मतदानपछि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे । उनले आतंकवादीले प्रयोग गर्ने विस्फोटक पदार्थभन्दा मतदातासँग रहने मतदान परिचयपत्र बढी शक्तिशाली रहेको पनि बताए । गुजरातका सबै २६ निर्वाचन क्षेत्रमा मंगलबार चुनाव हुँदैछ । गुजरातमा ३७१ जना चुनावी मैदानमा छन् ।

रासस/एएनआई