लोकतन्त्र दिवस राजतन्त्रले घुँडा टेकेको दिन

काठमाडौँ, वैशाख ११ गते । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट नेपालमा २०६३ साल वैशाख ११ लोकतन्त्र बहाल भएको दिन । संसद्वादी दलहरूले अगाडि बढाएको आन्दोलन र सशस्त्र सङ्घर्षमा रहेको तत्कालीन नेकपा माओवादी बीच सम्पन्न १२ बुँदे सहमतिपछि १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको दिन । अर्थात् प्रत्यक्ष शासन सञ्चालन गर्दै आएको निरङ्कुश राजतन्त्रले घुँडा टेकेको दिन हो यो ।

देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन ७५३ स्थानीय तह, सात प्रदेशसभा र सङ्घीय सरकार अहिले अग्रसर भएका छन् । लोकतन्त्रका उपलब्धि के के हुन् रु यस्तो बेलामा राजनीतिक दल, नेता र सरकारले ध्यान दिनुपर्ने विषय के छन् त भन्ने विषयमा राजनीति शास्त्रका प्राध्यापकहरूको भनाइ पर्छ ।

लोकतन्त्र उत्कृष्ट राजनीतिक प्रणाली हो, यसका विकल्प भनेको नै आदर्श लोकतन्त्र नै हो । लोकतन्त्रमा नै सबैले समान आधार र समान अवसर पाउँछन् । व्यक्ति, समुदाय, विभिन्न जात जाति भाषाभाषी, लिङ्ग, समुदायको हितका लागि नै लोकतन्त्र हो र यसले सबैलाई बाँच र बाँच्न देऊ, सबैले अवसर पाउनुपर्छ भन्ने मान्यता राख्छ ।

जनआकांक्षा एकै वर्षमा पूरा हुन सक्दैनन्

प्राडा रामकृष्ण तिवारी (प्रमुख, त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर)

जनताले जनआन्दोलन गरे, संसदीय दलहरूको नेतृत्वको आन्दोलन वा सशस्त्र विद्रोहको माध्यमबाट भएको आन्दोलनले नेपालमा लोकतन्त्र स्थापना भएको छ ।

लोकतन्त्रकै जगमा संविधानसभाको निर्वाचन भई नेपालको संविधान जारी भएको छ र यसले सबै जाति, वर्ग, लिङ्गका अधिकार संविधानमा प्रत्याभूत गरेको छ ।

संविधानमा धेरै किसिमका महत्वाकांक्षा समेटिएको छ, यस्ता ठूला महत्वाकांक्षालाई पूरा गर्न एक दुई वर्षमा नै सम्भव छैन । अभ्यासको क्रममा पूरा हुने छन् ।

जनताबाट निर्वाचित भएर शासनमा बस्ने र फेरि जनताकै तहमा आएर बस्ने व्यवस्था अहिले छ, यो लोकतन्त्रको राम्रो पक्ष हो । शासकीय स्वरुपमा सङ्घ, प्रदेश र स्थानीय तह छन् । यी तीनवटै तहमा जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले जनताका समस्यालाई नजिकैबाट समाधान गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

जनप्रतिनिधिले आफ्नो ठाउँमा कस्ता प्रकारका विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्ने, कस्तो नेतृत्वलाई माथि पु¥याउने, जनताको स्तरबाटै निर्णय गर्न सक्ने अवसर प्राप्त भएको छ, यो लोकतन्त्रको ठूलो उपलब्धि हो ।

एउटा राजनीतिक प्रणालीबाट अर्को राजनीतिक प्रणालीमा हामी रुपान्तरण भइराखेका छौँ । शासन गर्ने शैली र पद्धति फरक छन् । सङ्घीयताका स्वरूप पनि सबै देशमा एउटै छैनन् । यो एउटा राम्रो किसिमको राजनीतिक प्रणाली हो भनेर जनतालाई आश्वस्त पार्न सक्नुपर्छ । सबै दल, जनताको प्रतिनिधित्व राम्रो किसिमको छ भन्ने जनचेतना जगाउनु प¥यो । निर्वाचित नेतृत्वलाई अहिलको राजनीतिक व्यवस्थाका बारेमा प्रशिक्षित पार्ने, तालिमहरू दिने, यसका मूल्य मान्यता सिकाउने कार्य पनि राज्यबाट अगाडि बड्नुपर्छ । गतिशील विकासलाई अगाडि बढाउनुपर्छ र अब यो पछि यो आउँछ भनेर जनतालाई सुसूचित गराउनुपर्छ ।

मनोविज्ञान परिवर्तन गर्न सक्नुप¥यो

प्राडा लोकराज बराल (राजनीतिशास्त्री)

लोकतन्त्र प्राप्त भएपछि धेरै उपलब्धि प्राप्त भएका छन् । संविधानसभाले संविधान बनाएको छ, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ । जनअपेक्षा अनुसार सरकार चल्न सकेका छैनन् । राजनीतिक दलका नेताले अपेक्षित नेतृत्व प्रदान गर्न सकेनन् भन्ने गुनासो छँदैछ ।

जनताले जुन आशा राजनीतिक दल र नेतृत्वबाट गरेका थिए त्यो हुन सकेको छैन । हाम्रा नेता स्वच्छ छन्, जनप्रेमी छन्, शासन व्यवस्था जनमुखी छ, भ्रष्टाचारी छैनन् भन्ने देखिनु पनि पर्ने हो, त्यो देखिएको छैन । सबै भ्रष्ट छन्, खत्तम छन् भन्ने नकारात्मक सोच जनतामा परेको छ । जति राम्रो काम गरे पनि जनतामा यस्तो नकारात्मक भाव आयो भने त्यसले भोलि लोकतन्त्रलाई धेरै नराम्रो असर गर्छ ।

नेताले जनमुखी, पारदर्शी छु र कमिशनखोरमुखी छैन भन्ने सन्देश दिनसक्नु प¥यो । एउटै राजनीतिज्ञले पनि त्यस्तो छवि देखाउन सकेका छैनन् । यो नेता चाहिँ त्याग गरेको छ, जनताका लागि राम्रो काम गरेको छ भन्ने वातावरण देखिनुप¥यो ।

भाषण गरेर म यस्तो, उस्तो भनेर मात्र हुँदैन । भाषणले मात्रै रासन मिल्ने होइन । रोजगारीका लागि विदेश जाने क्रम जारी छ, महँगी बढेको बढ्यै छ, ठूला बडा र मध्यम वर्गका लागि राम्रै भएको होला तर गरिबका लागि त खास केही भएको छैन ।

 

गरिबका छोराछोरीले कमाएर विदेशबाट पठाएकोे पैसाले यति राजस्व बढ्यो भनेर हुँदैन । कर्मचारीतन्त्र ध्वस्त भइसक्यो, आफ्ना कार्यकर्ता भर्ना गर्ने केन्द्र बनाइएको छ । मानिसको मनोविज्ञान परिवर्तन गर्न सक्नुप¥यो, यहाँ पनि केही भइरहेको छ । युवा पुस्तालाई हामीले तयार पार्नु प¥यो । विद्यालय र विश्वविद्यालयको शिक्षा गुणस्तरीय र सकारात्मक सोच विकास गर्ने शिक्षा हुनुप¥यो ।यो समाचार गोरखापत्र दैनिकमा छ ।