सरकारी विद्यालयमा भर्ना गराउँदै जनप्रतिनिधि

पर्वत, वैशाख १५ । पर्वतमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेको सङ्ख्या बढ्दै गएको छ ।

जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, अभिभावक र विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि निजीबाट बालबालिकालाई छुटाएर सरकारी विद्यालयमा भर्ना गराउन थालेका हुन् । अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जलजला गाउँपालिका–९ बनौका जनप्रतिनिधि र शिक्षक तथा अभिभावकले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गरिएको छ । बनौले सरकारी निकायमा आवद्ध भएका र जनप्रतिनिधिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरेको थियो ।

 

वडाध्यक्ष गौबहादुर पुनले आफ्नी छोरीलाई निजी विद्यालबाट छुटाएर शनिबार स्थानीय बनौ माविमा भर्ना गराउनुभयो । उहाँ मात्र होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर पुर्जाले पनि आफ्ना दुई छोरीलाई कक्षा १ र कक्षा ४ मा भर्ना गराउनुभयो । त्यस्तै वडा सदस्य पार्वती सर्किनीले दुई छोराछोरी, विव्यस सदस्य टीकाराम पुर्जा, शिक्षिका गौमाया पुर्जा, मनकुमार गर्वुजा, सविता फगामीलगायतले पनि आ–आफ्ना बालबालिकालाई गाउँमै रहेको र केही सदरमुकाममा रहेको निजी विद्यालयबाट छुटाएर गाउँमै सामुदायिक विद्यालयमा लगेका छन् ।

 

वडाध्यक्ष गौबहादुर पुनले राज्यको भर्ना अभियानलाई सघाउ पु¥याउन र सरकारी निकायमा आवद्ध व्यक्ति सरकारी विद्यालयप्रति उत्तरदायी बन्नुपर्छ भन्ने मान्यता राखेर सबैले सामुदायिक विद्यालयमा भर्ना गराएको बताउनुभयो । उहाँले गाउँमा रहेको एक मात्र मावि बनौ माविमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने, तल्लो तहमा निजी विद्यालयजस्तै नर्सरी, केजी र मन्टेश्वरी विधिबाट पढाइ सञ्चालन गर्न थालेपछि निजी विद्यालय छाड्नेको सङ्ख्या बढेको बताउनुभयो । उहाँले आफ्नो विद्यालयमा मात्र ८८ विद्यार्थी नयाँ भर्ना भएको जानकारी दिनुभयो ।

 

निजी विद्यालयबाट सामुदायिक विद्यालयमा विद्यार्थी स्थानान्तरण गर्ने अभिभावक तथा शिक्षकलाई शनिबार एक कार्यक्रमका बीच दोसल्ला र अबिर लगाएर सम्मान गरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।

 

यस्तै सदरमुकाम कुश्माबजारमा रहेको शिवालय नमूना माध्यमिक विद्यालयका शिक्षक तथा अभिभावकले पनि आफ्ना बालबालिकालाई आफँैले अध्यापन गराउने विद्यालयमा स्थानान्तरण गरेका छन् । उनीहरुले गत आइतबार सामुदायिक विद्यालयमा सामूहिक रूपमा भर्ना गराएका हुन् ।

 

निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थी एसइई उत्तीर्ण भएपछि उच्च शिक्षामा कमजोर हुने र अन्य व्यवहारिक रूपमा समेत घुलमिल हुन नसक्ने भएकाले सामुदायिकमै पढाउनु उपयुक्त हुने शिक्षक आनन्द शर्माले जानकारी दिनुभयो ।

 

यता नारायण माध्यमिक विद्यालय कुश्माले निजी विद्यालय छाडेर आउने विद्यार्थीलाई कक्षा ९ मा प्रवेश परीक्षासमेत लिएको छ । वर्षेनी कक्षा ८ को पढाइ सकेर कक्षा ९ मा भर्ना हुन आउनेका लागि प्रवेश परीक्षा लिने र उत्तीर्ण हुनेलाई मात्र भर्ना गराउने गरिएको प्रधानाध्यापक अम्विका लोहनीले जानकारी दिनुभयो । उक्त विद्यालयमा एक हजार २०० विद्यार्थी छन् । विगत वर्षभन्दा यस वर्ष सामुदायिक विद्यालयमा जाने विद्यार्थीको सङ्ख्या बढेको निजी विद्यालयले जनाएका छन् । रासस