एकल महिलाको जग्गा झुक्काएर कब्जा

बुटवल, बैशाख १७ । रूपन्देहीको मर्चवारमा जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी गरिएको छ । वडाध्यक्ष ओमप्रकाश पाण्डेले आफ्ना छोरासहित सातजनाको नाममा जग्गा नामसारी गराएका हुन् ।

 

प्यारालाइसिसले थलिएकी ४९ वर्षीया कलावती हिँडडुल गर्न सक्दिनन् । उनको जग्गा झुक्काएर नामसारी गरिएको छिमेकी हरिप्रसाद बानियाँले बताए । सरकारले उपचारका लागि पैसा दिएको र सो पैसा पाउन सहीछाप गर्नुपर्ने भन्दै राजीनामा गराएको बानियाँले बताए ।

 

जग्गाको प्रचलित मूल्य ५० लाखभन्दा बढी छ । उक्त जग्गा चैत १४, १५ र १७ गते सातजनाले राजीनामा गराएको भेटिएको छ । त्यसको केही दिनपछि मालपोतबाट जग्गा नामसारी भएको छ ।

 

वडाध्यक्ष पाण्डेका छोरा राजेशको नाममा ५ कठ्ठा बढी जग्गा दर्ता भएको छ । त्यस्तै वडा कार्यालयका सहायक सचिव रामनाथ यादवकी पत्नी प्रमिला यादवको नाममा समेत पुर्जा बनेको छ । कोटहीमाईकै सूर्यनाथ यादव, हाटिबनगाईका प्रेमकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाका जितबहादुर यादव, कोटहीमाईकै विश्वनाथ पाल, उनकी पत्नी सुहावती पालको नाममा जग्गा सारिएको हो ।

 

एक वर्षअघि पति हरिप्रसाद पालको मृत्यु भएपछि कमलावतीले नागरिकता बनाएकी थिइन् । विवाह दर्ताका आधारमा नागरिकता बनेपछि उनको नाममा जग्गा सारिएको थियो । उनका छोराछोरी छैनन् । लेखन्दास मनोहर यादवले जग्गा नामसारी नसकिएको भन्दै सहीछाप गराएको कमलावतीलाई उधृत गर्दै स्थानीय सुवास लोनियाले बताए । लोनियाले कमलावतीको रेखदेख गर्दै आएका छन् ।

 

छोराको नाममा जग्गा दर्ता गरेका वडाध्यक्ष पाण्डेले १० लाख ५० हजार थैली दिएको बताउँदै आएका छन् । उनीहरुले औषधि उपचारका लागि पैसा दिएको र जग्गासमेत पैसा दिएर खरिद गरेको दाबी गरेका छन् । तर कमलावतीले भने कसैबाट पैसा नलिएको बताएकी छन् । वडाध्यक्ष पाण्डे सम्पर्कमा आउन चाहेनन् ।

 

जग्गा नामसारी भएको पत्तो पाएपछि कमलावतीले तीन दिनअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दिएकी छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले छलफलपछि मात्रै सत्य कुरा बाहिर आउने बताए । ‘प्रारम्भिक जानकारी मात्रै छ’, उनले भने, ‘दुईपक्षीय छलफलका लागि बोलाएका छौं ।’याे समाचार अन्नपूर्ण पोष्टमा छ।