भृकुटीमण्डपस्थित फनपार्क र टुकुचाको जग्गा सम्झौता खारेज

काठमाडौं, बैशाख १७ । समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषदका सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए । भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्क र ल्यामापुचःले मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । टुकुचाको ८।५ रोपनी जग्गामा हरितकृषि सहकारीले तरकारी बजार सञ्चालन गर्दै आएको थियो ।

 

‘भृकुटीमण्डपमा दुईवटा कम्पनीले छुट्टाछुट्टै तवरले मनोरञ्जनका स्टल सञ्चालन गर्दै आएका थिए । त्यस्तै, टुकुचामा तरकारी बजार सञ्चालन हुँदै आएको थियो,’ सूचना अधिकृत भट्टराईले भने, ‘अब उल्लेखित दुवै ठाउँमा परिषदको अर्को आदेशविना फनपार्क र तरकारी बजार सञ्चालन गर्न पाइनेछैन । किनकि, उनीहरूसँगको भाडा सम्झौता आजैका मितिबाट खारेज गरिएको छ ।’

 

परिषद्का अनुसार फनपार्क र तरकारी बजारको भाडा सम्झौता अस्वाभाविक देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले अध्ययनपछि सम्पूर्ण प्रतिवेदन सरकारलाई बुझाएको थियो । मन्त्रिपरिषद निर्णयपछि भाडा सम्झौता खारेज गर्न सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले लगत्तै मातहतको समाज कल्याण परिषद्लाई भाडा सम्झौता खारेज गर्न अर्को आदेश दिएको थियो । सोही आदेशपछि आइतबार बसेको परिषद्को बैठकले फनपार्क, ल्यामापुचः र हरितकृषि सहकारीसँग भएको भाडा सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

 

‘आजकै मितिबाट साबिक रूपमा सञ्चालन भइरहेका फनपार्क र तरकारी बजार कानुनी रूपमा अवैध ठहरिएका छन् । उनीहरू त्यहाँबाट अब हट्नुपर्छ,’ भट्टराईले भने । परिषद्का अनुसार भृकुटीमण्डपको ८३ रोपनीमध्ये काठमाडौं फनपार्कले ६० र ल्यामपुचःले २५ रोपनी जग्गा भाडामा लिएका थिए । सम्झौताअनुसार ल्यामपुचःले ०७८ सालसम्म भाडाको जग्गा उपभोग गर्न पाउनेछ । यो समाचार  नयाँपत्रिका दैनिकमा  छ ।